इतिहास मेटाउन होइन, डिजिटल रूपमा सुरक्षित बनाउन खोज्दैछौं : महामन्त्री पौडेल

६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरू इतिहास मेटाउन नभई डिजिटल रूपमा सुरक्षित गर्न खोजिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक गर्ने कार्यलाई बैंकको ‘केवाईसी’ भर्ने प्रक्रियासँग तुलना गरेका छन् । पार्टीका सदस्यहरूलाई जिम्मेवार बनाउँदै सपथ गराएर थप प्रतिबद्ध बनाइने उनको भनाइ छ ।
‘हामी इतिहास मेटाउन होइन, बरु आगोले नपोल्ने र पानीले नबगाउने रूपमा डिजिटल रूपमा सुरक्षित गर्न खोज्दैछौं,’ उनले भने, ‘कसैले कहिले सदस्यता लियो, कति जेल बसे, र पार्टीमा के योगदान दियो भन्ने कुरा अब झोलामा नभई डिजिटल प्रणालीमा फोटोसहित सुरक्षित रहनेछ ।’
पार्टीभित्रको आन्तरिक कलह र विशेष महाधिवेशनको विवाद अदालत र निर्वाचन आयोगबाट समाधान भइसकेको भन्दै उनले अब ‘जित र हार’ को अहंकार परित्याग गर्न आग्रह गरे । आगामी असोज १६ देखि १९ सम्म तोकिएको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै उनले भने, ‘हाम्रो अर्जुन दृष्टि अब १५औँ महाधिवेशन हो । हामी अधिकतम लचकता अपनाएर सबैलाई समेट्नेछौं ।’






