
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि लागू गरिएको समुद्री नाकाबन्दी अन्तर्गत एउटा इरानी झन्डावाहक पानीजहाज नियन्त्रणमा लिइएको बताएका छन्। खाडी क्षेत्रमा अमेरिकाले नियन्त्रणमा लिएको बताइएको मालवाहक जहाजबारे इरानले अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्तिगत गरेको छैन। रोक्नको लागि दिएको चेतावनीलाई बेवास्ता गरेपछि अमेरिकी नौसेनाले ‘टोस्का’ नामको जहाजलाई कब्जामा लिएको ट्रम्पले ट्रुथ सोशलमा उल्लेख गरेका छन्।
इरानसँगको युद्ध अन्त्यको प्रयास स्वरूप पाकिस्तानमा हुन लागेको दोस्रो चरणको वार्ताको टोली नेतृत्व फेरि पनि अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गर्ने ह्वाइट हाउसले पुष्टि गरे संगै ट्रम्पको यो घोषणा सार्वजनिक भएको हो। दोस्रो चरणको वार्तामा तेहरानले आफ्नो सहभागिता गर्ने कुरा अहिलेसम्म आधिकारिक रुपमा पुष्टि गरेको छैन। इरानी सरकारी सञ्चार माध्यमले अमेरिकी नाकाबन्दी जारी रहेसम्म इरानी अधिकारीहरूले सहभागी नहुने बताएका छन्।
ट्रम्पले अमेरिकी नियन्त्रणमा रहेको पानीजहाज करिब ९०० फिट लामो र विमानवाहक जहाज जत्तिकै तौल भएको बताएका छन्। अमेरिकी समुद्री नाकाबन्दी उल्लंघन गरेर जान खोजेको भन्दै ट्रम्पले उक्त जहाजको इन्जिन रहने कोठामा प्वाल पारेर जहाजलाई रोकेको जनाएका छन्। “अवैध गतिविधिको विगतका कारण टोस्का अमेरिकी ट्रेजरीको प्रतिबन्धमा छ। जहाजलाई हामीले पूर्ण नियन्त्रणमा लिएका छौँ र त्यसमा के छ भनेर जाँच गरिरहेका छौँ,” ट्रम्पले भनेका छन्।
अमेरिकी सेन्ट्रल कमान्डले सार्वजनिक गरेको एउटा भिडियोमा अमेरिकी जलसेनाको जहाजले उक्त जहाजलाई रोक्न चेतावनी दिएका र गोली प्रहार गरिएको देख्न सकिन्छ। अमेरिका र इरानबीच पहिलो चरणको वार्ता असफल भएपछि ट्रम्पले दुई देशबीच समझदारी नहुँदासम्म इरानी बन्दरगाहमा अमेरिकाले समुद्री नाकाबन्दी जारी राख्ने चेतावनी शुक्रबार दिएका थिए।






