‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु, शिक्षामा लगानी वृद्धि र बजेट कटौतीबारे चिन्ता

नेपालमा शिक्षा क्षेत्रमा पर्याप्त लगानी सुनिश्चित गर्नको लागि ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु भएको छ। राष्ट्रिय अभियान नेपाल (एनसीई) ले शिक्षा क्षेत्रमा बजेट कटौती हुँदै गएको र बढी चालु खर्चले पूर्वाधार विकासमा नकारात्मक असर परेको जनाएको छ। यस अभियानले शिक्षा क्षेत्रमा कुल बजेटको १५–२० प्रतिशत लगानी र अनुदान वृद्धि गर्न सरकारसँग माग गरेको छ।
यो कार्यसप्ताह विश्वव्यापी रूपमा मनाइँदैछ र नेपालमा ‘शिक्षा वित्तीयकरणका लागि अभियानको ज्योति बालिराखौं’ भन्ने नारासहित सञ्चालन भइरहेको छ। एनसीईले आजदेखि २७ अप्रिलसम्म विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै यस अभियानलाई अगाडि बढाएको हो। नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षा निःशुल्क र अनिवार्य बनाएको भए तापनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि पर्याप्त बजेट विनियोजन गरिएको छैन भन्ने जनाइएको छ।
पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रमा बजेट कटौती भइरहेकाले चिन्ता व्यक्त गरिएको छ। आर्थिक वर्ष २०६७/६८ मा कुल राष्ट्रिय बजेटको १७ प्रतिशतभन्दा बढी शिक्षा क्षेत्रमा छुट्याइएको थियो, अहिले त्यो करिब १०.७५ प्रतिशतमा सीमित भएको छ। प्रदेश र स्थानीय तहमा पनि शिक्षा क्षेत्रमा अपेक्षित लगानी नभएको तथ्यांक प्रस्तुत गरिएको छ।
एनसीईका अध्यक्ष लबराज ओलीले वैदेशिक सहयोग घट्दै गएको र ऋणभार बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा शिक्षा क्षेत्रमा थप चुनौतीहरू सिर्जना हुने बताए। अभियानअन्तर्गत केन्द्रीय, प्रदेश र स्थानीय तहमा अन्तरक्रिया, छलफल, नागरिक भेला, रेडियो सन्देश र सामाजिक सञ्जालमार्फत सचेतना कार्यक्रम सञ्चालन गरिने जानकारी गराइएको छ।






