
मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै तेस्रो एनआरएनए इलाम गोल्डकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल गरे। मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीलाई उत्कृष्ट प्रदर्शनका लागि ‘म्यान अफ द म्याच’ घोषित गरिएको छ। ७ वैशाख, इलाम।
तेस्रो एनआरएनए इलाम गोल्डकपअन्तर्गत सम्पन्न क्वाटरफाइनल खेलमा मच्छिन्द्र क्लब, काठमाडौंले मलेसियाको एन पेनाङ एफसीलाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। अत्यन्त प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमार्फत टुंगिएको छ। टाइब्रेकरमा मच्छिन्द्रका सनिस श्रेष्ठ, मिलन चाम्लिङ राई र कप्तान देवेन्द्र तामाङले गोल गरे।
यता, दीपेश गुरुङको प्रहार मलेसियाका गोलरक्षक प्रिसोले बचाउँदा दिवाकर चौधरीको प्रहार पोस्ट बाहिरिएको थियो। मलेसियाका तर्फबाट डेभिड र पाउल फेमीले मात्र गोल गर्न सफल भए। लाहाङ सुब्बा र निशान लिम्बुको प्रहार भने मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारीले उत्कृष्ट बचाउ गरे। मलेसियाका गोलरक्षक प्रिसोले प्रहार गरेको पेनाल्टी पोस्ट बाहिरिएपछि टोली दबाबमा परेको थियो। उत्कृष्ट प्रदर्शन गरेका मच्छिन्द्रका गोलरक्षक प्रदीप भण्डारी ‘म्यान अफ द म्याच’ घोषित भए। प्रतियोगिता अन्तर्गत भोलि अन्तिम क्वाटरफाइनल खेलमा न्युरोड टिम (एनआरटी), काठमाडौं र चित्लाङ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।






