
अपाङ्गता महासंघ नेपालको १०औं महाधिवेशनमा ह्विलचियर प्रयोगकर्ताहरूप्रति अमानवीय व्यवहार भएको छ। महाधिवेशनमा नेतृत्व चयनलाई लिएर विवाद र बल प्रयोग गरि निर्वाचन गरिएको आरोप लागेको छ। प्रतिनिधिहरूले राज्य संयन्त्र प्रयोग गरी आवाज दबाएको भन्दै मानवअधिकार आयोगमा उजुरीको तयारी गरिरहेका छन्। ७ वैशाख, पोखरा। जन्मेका १८ महिनामा पोलियोलाई संक्रमणपछि दुवै खुट्टा चल्न नसक्ने अवस्थामा पुगेका हेमबहादुर गुरुङको जीवन २५ वर्षसम्म घिस्रिएर बित्यो। पछिल्लो २५ वर्षदेखि उनले ह्विलचियरमार्फत अपाङ्गता क्षेत्रमा काम गर्दै अधिकारको संघर्ष गरिरहेका छन्। अहिलेसम्म कहिल्यै विक्षिप्त नभएका हेमबहादुर अहिले अभूतपूर्व अमानवीय व्यवहारको सामना गर्नुपर्यो। अझै शरीर झम्झमाइरहेको छ, दुखाइ छ, तर मनको पीडा सबैभन्दा ठूलो छ। अपाङ्गता क्षेत्रको संस्थाकै नेतृत्वबाट गरेको दमन सम्झेर हेमबहादुर भावुक भएका छन्। उनीहरुलाई लछारपछार गरियो, ह्विलचियरमा बुट बजारियो। मानिस एक तर्फ, ह्विलचियर अर्को तर्फ तोडियो। आत्मसम्मानको त कुरा गरौं, यहाँसम्म कि पिसाब फेर्न पनि जान अनुमति प्राप्त भएन। ‘अमानवीयताले सबै सीमा पार गरिसक्यो। अपाङ्ग व्यक्तिमाथि बेरहमीपूर्वक आक्रमण गरियो। जिवनको ५०औं वर्षमा पहिले कहिल्यै नभोगेको अपमान सहनुपर्यो। त्यो सम्झेर मन भक्कानिन्छ, आँखा रसाउँछन्,’ हेमबहादुर भावुक हुँदै भन्छन्। यो घटना चैत २८ गते राष्ट्रिय अपाङ्गता महासंघ नेपालको १०औं महाधिवेशन तथा २३औं साधारण सभामा भएको हो। बुटवलको दरबार लर्न पार्टी प्यालेसमा महासंघमा आवद्ध ४२५ संघसंस्थाका प्रतिनिधि सहभागी थिए। अपाङ्गता महासंघ नेपाल गण्डकी प्रदेश अध्यक्ष समेत रहेका हेमबहादुर नीतिगत बहस गर्न, अपाङ्गता भएकाहरुका अधिकार र सहभागिताको विषय उठाउन, संस्थागत सुधार र सक्षम नेतृत्व चयनको एजेन्डा लिएर महाधिवेशनमा पुगेका थिए। तर उनी संस्थाको २३ वर्षे इतिहासकै सबैभन्दा अमानवीय व्यवहारको साक्षी मात्र नभएर पीडित बने। हालै सामाजिक सञ्जालमा भाइरल भिडियोमा सुरक्षाकर्मीहरूले ह्विलचियरसहित उनलाई लछारपछार गरिरहेको र ह्विलचियर तोडिएको देख्न सकिन्छ। त्यसै ह्विलचियरमा बसेका व्यक्ति हेमबहादुर हुन्। महासंघको महाधिवेशनमा हेमबहादुर लगायत अधिकांश अपाङ्ग व्यक्तिहरूले नेतृत्वको अमानवीय व्यवहार र राज्यको आतंक सिर्जना भएको महसुस गरेका छन्। ‘बाउन्सर’ प्रयोग गरेर ह्विलचियर प्रयोगकर्ताहरूलाई जबर्जस्ती हटाइएको छ। अन्ध महिला माथि समेत अमानवीय व्यवहार भएको उनीहरूले बताएका छन्। सुरक्षाकर्मी, स्वयंसेवक र प्रहरीबाट समेत अपाङ्ग व्यक्तिहरूमाथि ज्यादती भएको खुलासा भएको छ। महासंघ सदस्य दृष्टिविहीन विरोध खतिवडा, सक्षम नेपाल संस्थाका अध्यक्ष न्यून दृष्टि विरुकमल श्रेष्ठ, भोजराज श्रेष्ठ र विमला सदाशंकर लगायतका अपाङ्ग व्यक्तिहरूले संस्थामा विधि प्रक्रियाको उल्लंघन हुँदा राज्य संयन्त्र प्रयोग गरी आवाज दबाइएको बताएका छन्। बल प्रयोग गरेर संस्थालाई गैरकानुनी तरिकाले कब्जा गरिएको गुनासो भए पनि उनीहरूको मुख्य दुखेसो राज्यको बेवास्ता प्रति छ। प्रहरी प्रशासनले उजुरी नलिएको र दमन भएन भन्ने देखाएकोले मानवअधिकार आयोगमा जान तयार छन्।






