Skip to main content

सोलुखुम्बुमा पहिलोपटक जिपलाइन सञ्चालनमा

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गौरीटापमा पहिलोपटक ५५० मिटर लम्बाइको जिपलाइन सञ्चालनमा ल्याएको छ। जिपलाइन सहित पाँच प्रकारका मनोरञ्जनस्थल निर्माणमा ८० लाख रुपैयाँ खर्च भएको गाउँपालिका उपाध्यक्ष बिना राईले बताइन्। गाउँपालिकाले कुल आम्दानीको ७० प्रतिशत स्थानीय तह र ३० प्रतिशत भेडिखोर सामुदायिक वनलाई दिने व्यवस्था गरेको छ।

नेचासल्यान गाउँपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले समुद्री सतहभन्दा करिब तीन हजार मिटर उचाइमा अवस्थित पर्यटकीयस्थल पत्तालेको सिमाना गौरीटापमा जिपलाइन निर्माण गरी सञ्चालनमा ल्याएको हो। आन्तरिक तथा बाह्य पर्यटकलाई जिल्ला भित्र्याई नागरिकको आयआर्जनमा वृद्धि गर्न, छिमेकी जिल्ला र छिमेकी स्थानीय तहमा पर्यटन प्रवर्द्धनमा सघाउ पुर्याई ग्रामीण पर्यटनमा टेवा पुर्याउने उद्देश्यका साथ पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरिएको नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले जानकारी दिए।

गाउँपालिकाको ८० लाख रुपैयाँ लागतमा साहसिक खेल जिपलाइन, साइक्लिङ, स्वीमिङ, क्लाम्बिङ र भ्यूप्वाइन्ट गरी पाँच प्रकारका मनोरञ्जनस्थल निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष बिना राईले बताइन्। योजना निर्माणका लागि कालिका निर्माण सेवासँग गाउँपालिकाले २०८२ साउन ११ गते सम्झौता गरेको नेचासल्यान गाउँपालिका पूर्वाधार विकास शाखाका इन्जिनियर सुजन शर्माले जानकारी दिए।

गाउँपालिका अध्यक्ष राईले उद्घाटन गरेको जिपलाइनमा वैशाख १ गते नयाँ वर्षको दिन परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो। सो दिन एक सय जना बढीले साहसिक खेल जिपलाइन खेलेर मनोरञ्जन लिएका थिए। नेचासल्यान गाउँपालिका–१ गौरीटाप र सोलुदुधकुण्ड नगरपालिका–८ पत्तालेको सिमानामा पर्ने गौरीटापमा निर्माण गरी वैशाख १ गतेदेखि सञ्चालनमा आएको जिपलाइनलाई नियमित रूपमा सञ्चालन गर्न ठेक्का आह्वान गरी आधिकारिक संस्थालाई जिम्मा दिने गाउँपालिकाले जनाएको छ।