Skip to main content

थुनुवा कक्षबाट उद्धार गरिएका युवक श्रीकृष्ण बिकको निधन

समाचार सारांश: सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षबाट उद्धार गरिएका २२ वर्षीय श्रीकृष्ण बिक उपचारकै क्रममा निधन भएका छन्। बिकलाई थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला पारेर अस्पताल पुर्‍याइयो, तर चिकित्सकले उनलाई मृत घोषणा गरे। मृतकका परिवारले निष्पक्ष छानबिनको माग गर्दै समिति गठन गरेको छ र शव पोस्टमार्टमका लागि राखिएको छ। ८ वैशाख, काभ्रेपलाञ्चोक।

सिन्धुलीको इलाका प्रहरी कार्यालय खुर्कोटको थुनुवा कक्षबाट उद्धार गरिएका युवकको मृत्यु भएको छ। थुनुवा कक्षमा झुन्डिएको अवस्थामा फेला परेका सिन्धुलीको सुनकोशी गाउँपालिका–३ जुम्लेडाँडाका २२ वर्षीय श्रीकृष्ण बिकलाई उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याइएको थियो। थुनुवा कक्षको भेन्टिलेसनमा आफैं लगाएको सर्टको पासो लगाएर झुन्डिएका बिकलाई तुरुन्त उद्धार गरी सुनकोशी सामुदायिक अस्पताल पुर्‍याइएको थियो। प्राथमिक उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल पठाइए पनि चिकित्सकले उनको मृत्यु भएको पुष्टि गरे।

जिल्लाका प्रहरी प्रमुख लालध्वज सुवेदीले घटनाको समयमा थुनुवा कक्षमा बिक एक्लै रहेको बताएका छन्। मृतक बिक काठमाडौंमा सवारी चालकको रूपमा काम गरिरहेका थिए। उनले खोटाङकी १६ वर्षीया युवतीसँग गत २८ चैतमा प्रेम विवाह गरेका थिए। विवाहपछि युवती नाबालिका भएको दाबी गर्दै परिवारले जबरजस्ती करणीको आरोप लगाउँदै ललितपुरको सातदोबाटो प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि सातदोबाटो प्रहरीले थप अनुसन्धानका लागि बिकलाई ३ वैशाखमा इलाका प्रहरी कार्यालय खुर्कोट पठाएको थियो।

मृत्यु भएको घटनापछि मृतकका आफन्त र स्थानीयवासीले इलाका प्रहरी कार्यालय खुर्कोटमा भेला भई घटनाको निष्पक्ष र पारदर्शी छानबिनको माग गरेका छन्। उनीहरूको मागअनुसार मृतकका आफन्तको सहभागितामा सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपेन्द्र पौडेलको संयोजकत्वमा प्रहरी प्रवक्ता, स्थानीय वडा अध्यक्ष लगायतको समिति गठन गरिएको छ, जिल्ला प्रहरी प्रमुख सुवेदीले जानकारी दिए। मृतकको शव हाल पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा राखिएको छ।