विद्यालयको रकम हिनामिनाको आरोपमा प्रिन्सिपलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको त्रिभुवन जनता माध्यामिक विद्यालयका ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। मुद्दा अनुसार तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकीमाथि प्रत्येक जनाविरुद्ध १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो माग गरिएको छ। अख्तियारले प्रविधिमैत्री कक्षा कोठा निर्माणमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेको आरोप लगाएको छ। ९ वैशाख, काठमाडौं।
रुकुम पश्चिमको त्रिभुवन जनता माध्यामिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सार्वजनिक सम्पत्तिमा हानि पुर्याएर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
तत्कालीन प्रिन्सिपल खनाल र लेखापाल ठकबहादुर बुढाथोकीविरुद्ध जनही १० लाख ७५ हजार ७५३ रुपैयाँ बिगो माग गरिएको छ भने कार्यालय सहायक रमा शाह र गौरी रावत केसीविरुद्ध जनही ४ लाख ८८ हजार ८११ रुपैयाँ बिगो माग गरिएको छ। यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-६ का डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोपाइटर शिवप्रसाद श्रेष्ठविरुद्ध ७ लाख ८ हजार ८११ रुपैयाँ बिगो माग गरिएको छ।
वित्तिय व्यवस्थापन समितिका अध्यक्ष खड्का, मुसीकोट नगरपालिकाका शाखा अधिकृत बिनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओलीलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ (२) बमोजिम कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। उनीहरूले आर्थिक वर्ष २०७८/७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापन कार्यक्रममा खरिद गरिएको सामग्रीमा नक्कली बिल भौचर बनाएर भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ।






