
नेपालमा विद्यार्थीहरूले सैद्धान्तिक ज्ञान मात्रले व्यावसायिक क्षेत्रमा सजिलै प्रवेश पाउन नसक्दा विदेशिने प्रवृत्ति बढेको छ। इन्टर्नसिप कार्यक्रमले विद्यार्थीहरूलाई वास्तविक काममा अनुभव र आत्मविश्वास बढाउने अवसर प्रदान गर्दछ। सरकारले इन्टर्नसिपलाई दिगो बनाउन स्पष्ट नीति र निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ। नेपालमा प्रत्येक वर्ष हजारौं विद्यार्थीहरू उच्च शिक्षा हासिल गरी श्रम बजारमा प्रवेश गर्दछन्। तर, शिक्षण संस्थाबाट प्राप्त सैद्धान्तिक ज्ञान मात्रले व्यावसायिक क्षेत्रमा सजिलै प्रवेश पाउन नसक्दा उनीहरूमा गहिरो निराशा बढेको पाइन्छ। फलस्वरूप, नयाँ पुस्ताको ठूलो हिस्सा विदेशिने प्रवृत्ति देखिएको छ। धेरैजसो युवाहरू विदेश जानुका प्रमुख कारणमा देशभित्र अवसरको अभाव, रोजगार खोज्दा सुरुमै अनुभवको माग हुनु र नयाँ पुस्तामा बिना अनुभव व्यावसायिक काम गर्न आत्मविश्वासको कमी पर्दछ। यस्ता समस्याहरूलाई सम्बोधन गर्न इन्टर्नसिपलाई एक व्यवहारिक र परिणाममुखी उपायको रूपमा लिन सकिन्छ। यसले विद्यार्थीहरूलाई आफ्नो सिकाइलाई वास्तविक काममा प्रयोग गर्ने अवसर दिन्छ, जसबाट उनीहरूमा सीप विकाससँगै आत्मविश्वास पनि बढ्छ। त्यसकारण इन्टर्नसिपले सैद्धान्तिक ज्ञान र व्यावसायिक अभ्यासबीचको प्रभावकारी पुलको भूमिका खेल्दछ।
इन्टर्नसिपमार्फत विद्यार्थीहरूले आफ्नो कार्यक्षेत्रका चुनौती र अवसरहरूलाई नजिकबाट बुझ्ने मौका पाउँछन्। यस्ता कार्यक्रममार्फत उनीहरूले कार्यस्थलको वातावरण, टिममा काम गर्ने तरिका, समय व्यवस्थापन, तथा पेशागत जिम्मेवारीजस्ता पक्षहरूमा प्रत्यक्ष अनुभव हासिल गर्न सक्दछन् जसले गर्दा उनीहरूलाई भविष्यमा रोजगारीका लागि थप सक्षम र प्रतिस्पर्धी बनाउँछ। यसको सफल उदाहरणको रूपमा, इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा. लि. ले हालै चार जना भर्खरै उत्तीर्ण सिभिल इन्जिनियरहरूलाई इन्टर्नसिप कार्यक्रममार्फत नयाँ अवसर प्रदान गरेको छ। कम्पनीले आफ्ना अनुभवी इन्जिनियरहरूको प्रत्यक्ष मार्गदर्शनमा ती इन्टर्नहरूलाई वास्तविक परियोजनामा संलग्न गराएको थियो। प्रारम्भिक सिकाइ चरणमा रहेका ती इन्टर्नहरूले छोटो समयमै उल्लेखनीय प्रगति गर्दै अनुभवी इन्जिनियरहरूको स्तरका काम गर्न सफल भएका थिए। यसले देखाउँछ कि उचित अवसर र सही मार्गदर्शन पाए नयाँ इन्जिनियरहरूले छोटो समयमा उत्कृष्ट नतिजा देखाउन सक्छन्।
सरकारले गर्नुपर्ने काम यद्यपि यस्ता पहलहरू केही निजी कम्पनीहरूले स्वेच्छिक रूपमा गरे पनि यसको प्रभाव व्यापक रूपमा फैलाउन सकिँदैन। त्यसैले इन्टर्नसिपलाई संस्थागत र दिगो बनाउन सरकारले सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ। सरकारले इन्टर्नसिपको महत्व बुझेर स्पष्ट नीति र कार्यान्वयन संरचना तयार गर्नुपर्छ। यदि कुनै मन्त्रालयले आफ्ना मातहतका विभागहरूमार्फत वार्षिक करीब १०० यस्ता कार्यक्रममा औसत ५ जना इन्टर्न समावेश गर्यो भने करिब ५०० जनाले प्रत्यक्ष व्यावसायिक कामको अनुभव प्राप्त गर्नेछन्। विगतमा केही मन्त्रालयहरूले इन्टर्नसिप कार्यक्रम सञ्चालन गर्दा अपेक्षित नतिजा नपाएको मुख्य कारण भनेको इन्टर्नहरूलाई वास्तविक काममा संलग्न नगरि अविश्वास गर्नु र कार्यक्रमको प्रभावकारी व्यवस्थापन नहुनु हो। यसलाई सुधार गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै व्यावसायिक कम्पनीहरूमार्फत इन्टर्नसिप कार्यक्रम संचालन गर्नुपर्नेछ।
यसका लागि विभिन्न मन्त्रालयहरूले आफ्नो मातहत विभागहरूमार्फत केही वास्तविक परामर्श सेवा र अन्य कार्यक्रमहरू इन्टर्नमार्फत गराउने गरी टेन्डर आह्वान गर्न सक्दछन् र काम गर्न इच्छुक कम्पनीहरूले मात्रै टेन्डरमा सहभागी हुन पाउने व्यवस्था मिलाउनुपर्छ। यस्ता परियोजनाहरूमा अनुभवी पेशाकर्मीहरूको सुपरिवेक्षणमा इन्टर्नहरूलाई संलग्न गर्दा उनीहरूले वास्तविक कार्य अनुभव प्राप्त गर्नेछन्। यदि एउटा मन्त्रालयले वार्षिक रूपमा करिब १०० यस्ता कार्यक्रम सञ्चालन गरी प्रत्येकमा औसत ५ जना इन्टर्न समावेश गर्यो भने करिब ५०० जना नयाँ विद्यार्थीहरूले प्रत्यक्ष व्यावसायिक अनुभव प्राप्त गर्नेछन् र यसलाई विभिन्न मन्त्रालयहरूमा विस्तार गर्न सके हजारौं युवाले हरेक वर्ष लाभ लिन सक्नेछन्। दीर्घकालीन रूपमा, यस किसिमको कार्यक्रमले दक्ष, आत्मविश्वासी र अनुभवी जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउनेछ। साथै शिक्षित युवाहरूको विदेश पलायन कम गर्न र देशभित्र अवसर सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ। अन्ततः, इन्टर्नसिपलाई केवल शैक्षिक पूरक कार्यक्रमका रुपमा हैन राष्ट्रिय विकासको महत्वपूर्ण उपकरणका रूपमा लिनुपर्ने हुन्छ। राज्य, निजी क्षेत्र र शैक्षिक संस्थाहरूको सहकार्यबाट मात्र यस्तो पहललाई प्रभावकारी र दिगो बनाउन सकिन्छ। सही नीति, स्पष्ट संरचना र प्रतिबद्ध कार्यान्वयनका साथ इन्टर्नसिपले नेपालको नयाँ पुस्तालाई सक्षम, आत्मनिर्भर र भविष्यप्रति आशावादी बनाउन मद्दत गर्दै शिक्षित युवाहरूको विदेश पलायन समस्यालाई कम गर्न सकिन्छ। (लेखक अनुप खनाल, इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रा. लि. का कार्यकारी अध्यक्ष हुन्। उनी २०८१ सालको अनलाइनखबरको ‘चालिस मुनिका चालिस युवा’ पुरस्कार विजेता पनि हुन्।)






