
अमृत झाको रिहाई प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको
११ वैशाख, काठमाडौं। स्ट्रेट अफ होर्मुजबाट इरानले पक्राउ गरेका नेपाली नागरिक अमृत झाको रिहाई प्रक्रिया अझै चलिरहेको छ भनी सरकारले जानकारी दिएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाई प्रक्रिया निरन्तर जारी रहेको तथ्य सार्वजनिक गरेका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झाको रिहाई भइसकेको सामाजिक संजालमा घोषणा गर्नुभएको थियो, तर उनको अहिले पनि इरानकै जेलमा रहेका तथ्य प्रकाशमा आएसँगै व्यापक आलोचना भईरहेको थियो।
‘द्वन्द्व सुरु हुनु अघि पक्राउ परेका र इरानको बन्दर अब्बासमा हिरासतमा रहेका नेपाली नागरिक अमृत झासँग सम्बन्धित पानीजहाज मुद्दामा त्यहाँको स्थानीय अदालतले एक तहको फैसला प्रस्तुत गरिसकेको छ। यसमा संलग्न ७ मध्ये ४ जनालाई पहिले नै रिहा गरिएको छ। बाँकी व्यक्तिहरूको रिहाई प्रक्रिया पनि अघि बढिरहेको छ,’ प्रवक्ता क्षेत्रीले बताए। उनले थपे, इरानको वर्तमान जटिल परिस्थिति र त्यहाँको न्यायिक प्रणालीका कारण केही कानुनी प्रक्रियाहरू बाँकी रहेकोले तिनीहरू पूरा हुनका लागि अझ केही दिन लाग्नेछ। झाको रिहाईका लागि सरकारले विभिन्न तहमा निरन्तर पहल गरेको कुरा पनि प्रष्ट पारे। रिहाईको सम्पूर्ण प्रक्रिया जारी भएकाले मन्त्री खनालले रिहाई भइसकेको भन्नु भएको विषयलाई मन्त्रालयले यसै आधारमा बचाउ गरेको छ।