Skip to main content

अमृत झाको रिहाइ प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ

११ वैशाख, काठमाडौं । स्ट्रेट अफ होर्मुजबाट इरानले पक्राउ गरेका नेपाली नागरिक अमृत झाको रिहाइ प्रक्रिया अझै जारी रहेको सरकारले जनाएको छ। परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले झाको रिहाइ प्रक्रिया अझै जारी रहेको जानकारी दिएका छन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भइसकेको सामाजिक सञ्जालमा घोषणा गरेका थिए, तर उनी हालसम्म पनि इरानको जेलमै रहेका पाइएपछि व्यापक आलोचना भएको थियो।

‘द्वन्द्व सुरु हुनु अघि नै पक्राउ परेका र इरानको बन्दर अब्बासमा राखिएका नेपाली नागरिक अमृत झासँग सम्बन्धित पानीजहाजको मुद्दा सम्बन्धी त्यहाँको स्थानीय अदालतले एक चरणको फैसला सुनाइसकेको छ। यसमा संलग्न ७ जनामध्ये ४ जना पहिले नै रिहा भइसकेका छन्। बाँकी व्यक्तिहरूको पनि रिहाइ प्रक्रिया अगाडि बढिरहेको छ,’ प्रवक्ता क्षेत्रीले बताए। उनले भने, इरानको वर्तमान जटिल अवस्था र त्यहाँको न्यायिक प्रणालीअन्तर्गत केही कानुनी प्रक्रिया बाँकी रहेकोले ती प्रक्रिया पूरा हुन अझै केही दिन लाग्ने छ। झाको रिहाइका लागि सरकारले विभिन्न तहमा पहल निरन्तर रुपमा गरिरहेको पनि प्रवक्ता क्षेत्रीले बताए। रिहाइको सम्पूर्ण प्रक्रिया अघि बढिरहेको हुँदा मन्त्री खनालले रिहाइ भइसकेको भनेको विषयलाई मन्त्रालयले बचाउ गरेको छ।