Skip to main content

सिरहामा गर्मी बढ्दै गर्दा जनजीवन प्रभावित

सिरहामा अत्यधिक गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भएको छ र जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले गर्मीले पठनपाठनमा कठिनाइ आएको बताएका छन्। व्यापारी, सवारी चालक र अभिभावकले गर्मीका कारण दैनिक कारोबार र आम्दानीमा असर परेको गुनासो गरेका छन्। ११ वैशाख, सिरहा। पछिल्लो केही दिनदेखि सिरहामा अत्याधिक गर्मी र तातो हावाको प्रभाव तीव्र रुपमा देखिन थालेको छ। बढ्दो तापक्रमका कारण सडकहरु सुनसान भएका छन् भने जनजीवन पनि प्रभावित हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहाले सर्वसाधारणलाई उच्च सतर्क रहन आग्रह गरेको छ।

प्रशासनले विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ। गोलबजारको माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलका स्थानीय विद्यार्थी नितेशकुमार ठाकुर र हिमानी सिंहले अत्यधिक गर्मीका कारण विद्यालय जान निकै कठिन भएको बताएका छन्। कक्षामा बस्दा अत्यधिक पसिनाले कापी भिज्ने र पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने समस्या देखिएको उनीहरूले बताए।

त्यस्तै, गोलबजार नगरपालिका–८ का स्थानीय व्यापारी शेखर यादव, नरेश यादव र चन्द्रदेव राउतले बिहानदेखि पसल खोल्नुभए पनि दिउँसो ग्राहक नआउँदा व्यापार ठप्प जस्तो भएको बताएका छन्। अत्यधिक गर्मीका कारण मानिसहरू घरबाहिर निस्कन नचाहँदा दैनिक कारोबारमा प्रत्यक्ष असर परेको उनीहरूको भनाइ छ। जसले गर्दा बैंकको दैनिक किस्ता तिर्नसमेत समस्या भइरहेको जानकारी पनि दिएका छन्। माउन्ट एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक रामेश्वर कामती र मनोजकुमार यादवले पनि गर्मीका कारण पठनपाठन प्रभावित भएको बताएका छन्।

कक्षामा बस्दा विद्यार्थीलाई लेख्न गाह्रो हुनु, शिक्षकहरू पसिनाले भिज्नु र विद्यार्थीको उपस्थितिमा कमी आउने समस्या देखिएको उनीहरूले बताए। यता, अभिभावक देवनारायण साह र दीपक नायकले यस्तो चर्को गर्मीमा बालबालिका विद्यालय पठाउन डर लाग्ने अवस्था रहेको बताएका छन्। स्वास्थ्यमा नकारात्मक असर पर्ने चिन्ताबाट विद्यालयहरूले बिहानको समयमा मात्र कक्षा सञ्चालन गर्नुपर्ने सुझाव दिएका छन्। यस्तै, अत्यधिक गर्मीले सवारी चालकहरूको आम्दानीमा पनि असर परेको छ। गोलबजार नगरपालिका–६ का चालक जगदीश यादवले पहिले दैनिक राम्रो आम्दानी हुन्थ्यो तर अहिले यात्रु अभावका कारण दुईदेखि चार सय रुपैयाँ कमाउनसमेत गाह्रो भएको बताएका छन्।

अत्यावश्यक अवस्था बाहेक यात्रुहरू ननिस्कन थालेका कारण जीविकोपार्जनमा समस्या देखिन थालेको उनीहरूको गुनासो छ। गोलबजार नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, बाहिर जाँदा छाता वा टोपी लगाउन, प्रशस्त पानी र झोलिलो पदार्थ सेवन गर्न, हल्का र सुतली कपडा लगाउन तथा सकेसम्म चिसो र हावा चल्ने ठाउँमा बस्न अनुरोध गरेका छन्। उनका अनुसार टाउको दुख्ने, चक्कर लाग्ने, अत्यधिक पसिना आउने वा बेहोस हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आवश्यक छ।