
बिहान ब्रह्म मुहूर्तमा बा–हजुरबाले ‘ॐ जय जगदीश हरे’ गाउँदा झर्को मानेर सिरकभित्र गुटुमुटु पर्ने पुस्ता थिए ती। घण्टी र शंखको ध्वनि अनि भजनको अलापमा यिनीहरू न जागृत हुन्थे, न मुग्ध। बरु क्यासेट प्लेयरमा ‘हो जा रंगीला रे’ घन्काएर शरीरका अवयवहरू जर्याकजुरुक पार्दै आफ्नो दैनिकी सुरु गर्थे। प्रातकालीन आरतीमा यिनीहरूले थाली घुमाएनन्, पूजाआजा गरेनन्, टीका–प्रसाद ग्रहण गरेनन्। अन्ततः भक्ति भजनसँगै सुरु हुने घरको चालामाला फेरियो। सबेरै पूजापाठ गर्ने र साँझ सत्संग गर्ने अनादि क्रम भंग भयो। मिलेनियल्स र जेनजी मिश्रित यही ठिमाह पुस्ता अहिले हठात एक सय असी डिग्रीमा बदलिए। यिनीहरूले खैजडी जुटाए, ढोलक उठाए, झ्याली पिटे। अनि भक्तिभावले मुग्ध भएर भजन किर्तन गाउन थाले। आधुनिकताको रंग फेरिसकेका, प्रविधिको रफ्तार समातिसकेका, विज्ञानको कसिमा चढिसकेका यी पुस्ता कुन मनोभावले भजन किर्तन गरिरहेका छन्? यो सुखद रहस्यको कुरा हो। रहस्यको पोकोपन्तुरो खोल्न चाहिँ एमआरआर भित्र प्रवेश गर्नुपर्ने हुन्छ।
एमआरआर अर्थात मेन्स रुम रिलोडेड। १५ वर्षअघि कुनै युवाले रहरै–रहरमा एउटा फेसबुक पेज बनाउँछ, एमआरआर। युवाहरूको आफ्नै पेवा समूह, जहाँ उनीहरू भर्चुअल चियागफ गर्न सकोस्। १८ वर्ष माथिका, जुँगाको रेखी बसिसकेका वैशालु युवाहरूले यस पेजमा स्वागत पाउँछन्। उनीहरूले मन खोलेर त्यहाँ ‘ननभेज’ कुरा गर्दै आफ्नो असली रूप देखाउन सक्छन्। जे पनि भन्न सक्छन्, मनमा लागेका कुरा। हल्काफुल्का गफ, सामान्य समस्याहरू र तामासिक जोक्सहरू गर्दै सुरु भएको यो पेज आफैंमा एक अलग सत्ता बन्छ। करिब करिब उस्तै छिमलका विश्वभरका युवाहरूलाई यसले आफ्नो प्रभाव र प्रवाहमा डोहोर्याउँछ। सामाजिक सञ्जालमा युवा आवाजलाई एकढिक्का बनाउने सामर्थ्य यही ग्रुपले जुटाउँछ। यसले कहिले खबरदारी गर्छ त कहिले साझेदारी गर्छ। उनीहरू ‘स्वर्ण उमेर’लाई मनमौजी खर्चने होइन बरु, सामाजिक दायित्वका लागि आफ्ना योगदान खोज्न थाल्छन्।
अन्ततः बनभोज, भेला, छलफलमा समेटिएको यो समूह कहिले वृक्षरोपण गर्न एकबद्ध हुन्छन्, कहिले सरसफाइ। कहिले उद्धार कार्यमा एकजुट हुन्छन् त कहिले स्वयमसेवामा। अन्ततः भौतिक योगदानसँग यो छिमल आत्मिक जागरणमा सरिक हुन्छन्। सामूहिक भजन–किर्तनको थालनी त्यसैको एक सिलसिला हो। टिकटक, रिल्स र इन्स्टातिर बरालिने युवालाई यसले भजन मण्डलीमा एकत्रित गरिदिएको छ। त्यसैले त ठाउँ–ठाउँमा युवाहरू भेला हुँदै पूर्ण भक्तिभावले भजन किर्तन गाइरहेका छन्। जुन पुस्ताबाट ‘धर्म–परम्परा’को मोहभंग भयो, त्यही पुस्ताले फेरि भजनमा भाका हाल्दै स्वतःस्फूर्त टोल–टोलमा भेला हुँदा समाज हेरिरहेको छ।
सूर्यास्तको घडी। मधुरो घामको लालीले धर्ती छाड्ने बेला। कुनै मन्दिर परिसरको सात्विक मौसम। जिन्स र टीशर्टमा ठाँटिएका तन्नेरीहरू आमने–सामने बसेका छन् पलेँटी कसेर। शिरमा ढाका टोपी, गलामा रुद्राक्ष र रामनामी धारण गरेर। खैजडी, ढोलक र झ्यालीको तालसँगै युवाहरू एकसुरमा गाउन थाल्छन्, ‘लीला हुन लाग्यो.. हा. राम तिम्रो मन्दिरमा।’ कोही सुस्त सुस्त अर्धगोलाकार घुम्दै घाँटु नाचे जसरी शरीरलाई लयबद्ध गर्छन्, कोही स्वरमा स्वर घुमाएर भजन गाउँछन्। माहोल यस्तो मादक बन्छ, मानौं ती कुनै हिप्पी युगका मस्ट तन्नेरीहरू हुन् जो ‘हरे राम हरे कृष्ण’ गाइरहेका छन्। गिटारको धुनमा। ‘भर्खर भर्खर चल्न थाल्यो, जीवन आधा आधावृन्दावनमा भेट भयोकृष्णसँग राधाधर्म आधा आधाहुन्छ कि हुँदैन हे राधा ..अहै……’ सन्ध्याकालीन भजनको यो लहर र स्वर क्रमशः बढ्दै जान्छ। युवाहरूको समूह थपिँदै जान्छ। हेर्दा–हेर्दै यो खहरे–खोला नदीको प्रवाहमा मिसिए जसरी एउटा विशाल लहर बन्छ। अन्ततः काठमाडौंको कुनै मन्दिर परिसरको परिधि नाघेर यो चितवन, बुटवल, भैरहवा, हेटौंडा, पोखरातिर झरने लाग्छ। अनि यसको झंकार दुबई, कतार, मलेसिया हुँदै जापान, फिनल्यान्डतिर फैलिन्छ। ‘एमआरआर भजन मण्डली’सहितको ब्यानर समातेर उनीहरू गर्वले स्टाटस लेख्छन्, ‘एमआरआर भजन अब फलानो ठाउँमा पनि।’ भक्ति, संगीत र आराधनाको यो युवा–समूह आफैंमा एक अभियान बन्छ। ‘एमआरआर भजन’ शीर्षकसहित विभिन्न मिति, विभिन्न स्थान र विभिन्न समयमा नियमित रूपमा भजन किर्तनको सिलसिला सुरु हुन्छ।
करिब एक वर्षअघि भएको कुरा हो। एमआरआर ग्रुपका युवाहरू भृकुटीमण्डपमा भेटघाट गर्थे, भलाकुसारी गर्थे, चियापान गर्थे र फुटसल खेलेका थिए। कुराकानीका क्रममा उनीहरूले भने, ‘भजन किर्तन गर्ने पो गर्ने कि?’ यो काइदाको जुक्ति थियो। एमआरआरका संस्थापक सन्तोषकुमार थापा भन्छन्, ‘त्यसपछि काठमाडौंमा हामीले एक साँझ भजन किर्तन गर्यौं।’ त्यसबेला केही युवा भेला भए। सहर मादक साँझमा घुम्ने क्रममा उनीहरू कुनै मन्दिर परिसरमा ‘हरे राम हरे कृष्ण’मा भाका हालिरहेका थिए। यसै बिन्दुबाट शुरु भएको भजन किर्तनमा क्रमशः युवाहरू जोडिँदै गए। ‘सुरुमा सीमित ठाउँमा भजन किर्तन गरिरहेका थियौं’ सन्तोष भन्छन्, ‘पछि विस्तारै बुटवल, पोखरा, हेटौंडालगायतमा रहेका एमआरआरका साथीहरूले पनि सुरु गरे। अहिले त नेपाल मात्र होइन, विदेशमा समेत सुरु भइसकेको छ।’ यस क्रेज कतिसम्म बढ्दै गएको छ भने, साप्ताहिक भजन अब ठूलो उत्सव बनेको छ। जहाँ जहाँ युवाहरू भजन गाउन बस्छन्, त्यहाँ त्यहाँ स्थानीयको सात्विक भिड लाग्ने गर्दछ। उनीहरू उमंगले सहभागी हुँदै, भक्तिभावले भजन किर्तनमा नाच्ने र गाउने गरिरहेका छन्। ‘अहिले केही मठमन्दिरले हामीलाई निमन्त्रणा गर्न थालेका छन्’ सन्तोष सुनाउँछन्, ‘खुसीको कुरा चाहिँ नयाँ वर्षको पूर्वसन्ध्यामा हामीलाई पशुपतिनाथबाट भजनका लागि निमन्त्रणा आयो।’ युवाहरू एकढिक्का भएर अत्यन्त उल्लासपूर्ण वातावरणमा भजन किर्तन गर्न थालेपछि कतिले भनेका छन्, ‘कति पैसा लाग्छ, हामीकहाँ पनि भजन आयोजना गर्नुपर्छ।’ ‘तर हामी पैसा लिएर भजन किर्तन गरिरहेका छैनौं’ सन्तोष भन्छन्, ‘यो एकदमै निःशुल्क हो। यसमा हामी कसरत पनि गर्दैनौं, स्वतःस्फूर्त जुट्ने हो।’ ‘फलानो ठाउँमा, फलानो मितिमा भजन हुँदै।’ बस्, फेसबुकमा सार्वजनिक गरिने यही सूचना हेरेर युवाहरू आज्ञाकारी भएर तोकिएको ठाउँमा, तोकिएको समयमा उपस्थित हुन्छन् र भक्ति–उल्लासले भजन किर्तनमा संलग्न हुन्छन्। कुनै विशेष अवसरमा वा फुर्सदको क्षणमा मात्र होइन, बरु समय निकालेर नियमित रूपमा उनीहरूले यसरी भजन किर्तनमा सहभागी हुन थालेका छन्। काठमाडौंलगायत क्षेत्रमा साप्ताहिक रूपमा भजन आयोजना भइरहेछन्। डिस्को थिएक, मदिरालयमा बेफिक्रीले रमाउने युवा लहर सौम्य र शान्त वातावरणमा मिसिएर, भक्तिभावले पग्लिएर, आध्यात्मिक चेतनाले जागृत हुँदै सन्ध्याकालीन भजन–किर्तनमा मग्न भएका छन्। सन्तोष भन्छन्, ‘यो एउटा जागरणको लहर हो। हाम्रा पूर्वजहरूले हामीलाई दिएका एउटा उपहार हो। यसले युवा समूहलाई आध्यात्मिक शुद्धिकरणमा डोहोर्याउँछ भन्ने हाम्रो आशा छ।






