Skip to main content

पूर्वअर्थमन्त्री युवराज खतिवडाले आर्थिक अवस्था अझै अस्वस्थ रहेको उल्लेख गरे

समाचार संक्षेप: पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार भए तापनि वास्तविक अर्थतन्त्र अझै अस्वस्थ रहेको बताएका छन्। उनले मौद्रिक उपायहरूले समस्या समाधान नहुने र ठूला संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन्। त्यस्तै, लगानी सुरक्षित नरहनुले निजी क्षेत्र निरुत्साहित भएको र मात्र ब्याजदर घटाएर कर्जा प्रवाह वृद्धि नहुने बताए।

१४ वैशाख, काठमाडौं। पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान आर्थिक परिदृश्यमा केही बाह्य सूचकहरु सुधारिएको देखिए पनि वास्तविक अर्थतन्त्र पूर्ण रूपमा स्वस्थ नभएको बताएका छन्। नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले बाह्य क्षेत्र सन्तुलित भए तापनि मूल्यवृद्धि नियन्त्रणमा रहेको र आर्थिक वृद्धिदर २-३ प्रतिशतमा सीमित रहेकाले यो अवस्था अत्यन्त सकारात्मक नभएको टिप्पणी गरेका छन्।

उनका अनुसार आर्थिक वृद्धिदर चारदेखि साढे चार प्रतिशतसम्म पुग्न सक्थ्यो भने राम्रो हुन्थ्यो, अहिलेको वृद्धिदर भने औसत मात्र हो। विगतमा रहेको अत्यधिक कर्जा र तरलताको समस्या केही हदसम्म नियन्त्रणमा आएको भए पनि पूर्ण सुधार भएको छैन। खतिवडाले भने, हालका समस्याहरूलाई साना मौद्रिक उपायहरू अर्थात ‘फिजियोथेरापी’ द्वारा समाधान सम्भव नभएकोले ठूला संरचनात्मक सुधार वा ‘सर्जरी’ आवश्यक रहेको बताएका छन्।

उनले नेपालको मुख्य समस्या व्यावसायिक वातावरण कमजोर हुनु र लगानी सुरक्षित हुने विश्वास नहुनु रहेको स्पष्ट पारे। सरकारले लगानीमैत्री वातावरण बनाउन नसके ब्याजदर घटाएर मात्रै कर्जा प्रवाह वृद्धि नहुने चेतावनी दिएका छन्। उनका अनुसार नेपाल अहिले “लिक्विडिटी ट्र्याप” स्थितिमा पुगेको छ जहाँ ब्याजदर ऐतिहासिक तल्लो स्तरमा भए पनि कर्जा प्रवाह अपेक्षित रुपमा बढिरहेको छैन।

उनी उदाहरण दिए कि विगतमा १८-२२ प्रतिशत ब्याजदर हुँदा पनि कर्जा विस्तार २० प्रतिशतसम्म पुगेको थियो, तर अहिले करिब ६ प्रतिशत ब्याजदरमै कर्जा माग नबढ्नु अनौठो अवस्था रहेको छ। पूर्वगभर्नर युवराज खतिवडाले भने, ‘हाल अर्थतन्त्रलाई हेर्दा बाह्य क्षेत्र राम्रो देखिन्छ, मूल्यवृद्धि नियन्त्रणमा छ र आर्थिक वृद्धिदर २ देखि ३ प्रतिशतको बीचमा छ। ४ देखि साढ़े ४ प्रतिशत हुन्थ्यो भने राम्रो हुन्थ्यो। हाम्रो कुरा क्रेडिट ओभरह्याङ र स्पिल ओभरको पनि थियो, जुन अहिले सुधारिएको छ। तथापि अर्थतन्त्र साँच्चै स्वस्थ छ कि बाहिरी रुपमै राम्रो देखिन्छ, यसको विश्लेषण आवश्यक छ।’