
१५ वैशाख, वीरगंज। वीरगंजको प्रमुख सडक त्रिभुवन राजपथ विस्तारलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रबिन्दु निर्धारण प्रक्रिया सुरु गरिएको छ। सोमबार आयोजित सरोकारवालाहरुको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रबिन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको छ। महानगर प्रमुख राजेशकुमार सिंहको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौंडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरु सहभागी थिए।
यसबाहेक सडक विस्तारका क्रममा केही संरचना हटाइए पनि सडकको वास्तविक केन्द्र भाग अस्पष्ट हुनुको कारण स्थानीयवासीहरु अन्योलमा थिए। ‘कहाँसम्म संरचना हटाउने?’ भन्ने प्रश्न लामो समयदेखि उठ्दै आएको थियो। अब भने आधिकारिक नक्साका आधारमा केन्द्रबिन्दु तोकिएपछि सडकको दायाँ-बायाँ बराबर दूरी कायम गर्दै आवश्यक चौडाइ सुनिश्चित गर्न सजिलो हुने विश्वास गरिएको छ। यसले विस्तार कार्यलाई थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ।
नापजाँचका लागि आवश्यक प्राविधिक तथा भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौंडाले उपलब्ध गराएको छ भने नक्सा र मापनसम्बन्धी काम नापी कार्यालय पर्साले गर्दैछ। सडक डिभिजन कार्यालयका इन्जिनियर भोला प्रसाद साहका अनुसार आज बिहानदेखि नै नापजाँच औपचारिक रूपमा सुरु भएको छ। यसका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगंज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्मका सबै चरणमा समन्वय गर्नेछ। यसअघि वैशाख ६ गते गण्डकदेखि भन्सारसम्मका क्षेत्रमा रहेका घर–टहरा हटाउन डोजर प्रयोग गरिएको थियो। अहिले केन्द्रबिन्दु निर्धारणसँगै सडक विस्तार कार्य थप तीव्र गतिमा अघि बढिरहेको छ।






