
१५ वैशाख, काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक सुरु गरेका छन्। बैठकमा समूहका शीर्ष नेता, १४ औं महाधिवेशनमा विजयी केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा रहेका क्षेत्रीय सभापतिहरु सहभागी भएका छन्। बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा बसेको छ। यसअघि ६ वैशाखमा यही स्थानमा भेला बोलाएर खड्काको समूहले “पर्ख र हेर” भन्ने रणनीति अपनाउने निष्कर्ष निकालेको थियो।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा पार्टी पुनर्गठन भएदेखि खड्का असन्तुष्ट देखिएका छन्। उनले विशेष महाधिवेशन खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर समेत गरेका थिए। तर सर्वोच्च अदालतले रिट खारेज गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि पनि उनले आफ्ना समूहका नेताहरूसँग बैठक र छलफल जारी राख्दै आएका छन्।
उनको गतिविधिलाई संस्थापन पक्षले अनुशासन विपरीत भएको भन्दै स्पष्टीकरणको माग समेत गरेको थियो। तर उनले कुनै स्पष्टीकरण बुझाएका छैनन्। बरु सभापति गगन थापाले ६ वैशाखमा गोल्फुटारस्थित खड्का निवास पुगेर भेटघाट गरेका थिए। दुई नेताबीच भएको छलफलबारे अहिलेसम्म सार्वजनिक रूपमा केही खुलाइएको छैन।






