Skip to main content

दिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यको रूपमा प्रवर्द्धन गरियो

नेपाल पर्यटन बोर्डले भारतमा लक्षित वैवाहिक पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ। पर्यटन बोर्ड र होटल एसोसिएसन नेपालले नयाँदिल्लीमा ‘नेपाल डेस्टिनेसन वेडिङ एन्ड ओटिएज कनेक्ट’ कार्यक्रम आयोजना गरेका छन्। सन् २०२५ मा नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४ सय ३८ भारतीय रहेका छन्। १६ वैशाख, काठमाडौं।
पछिल्लो समय पश्चिम एसियामा बढ्दो द्वन्द्वका कारण हवाईमार्गमा देखिएको अवरोध र विश्व पर्यटन बजारमा आएको अस्थिरताको बीच नेपाल पर्यटन बोर्डले छिमेकी भारतमा लक्षित पर्यटन प्रवर्द्धन अभियानलाई तीव्रता दिएको छ। त्यसै रणनीतिअनुसार भारतको नयाँदिल्लीमा नेपाललाई उत्कृष्ट वैवाहिक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको छ। पर्यटन बोर्ड र होटल एसोसिएसन नेपाल (हान) ले दिल्लीमा नेपाली दूतावाससँगको सहकार्यमा ‘नेपाल डेस्टिनेसन वेडिङ एन्ड ओटिएज कनेक्ट’ कार्यक्रम आयोजना गरेका छन्।
१५ र १६ वैशाखमा आयोजित दुई दिने उक्त कार्यक्रममा नेपाल र भारतका पर्यटन तथा वैवाहिक उद्योगका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रम मार्फत नेपाललाई सांस्कृतिक समृद्धि, प्राकृतिक सौन्दर्य र परम्परागत वैवाहिक संस्कारको अनौठो मेल रहेको ‘ड्रिम वेडिङ डेस्टिनेसन’ का रूपमा स्थापित गर्ने प्रयास भइरहेको छ। कार्यक्रममा २१ नेपाली कम्पनी र ४५ भारतीय वेडिङ प्लानरहरूको सक्रिय सहभागिता रहेको छ, जानकारी कार्यक्रममा सहभागी बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले दिएका छन्।
उनका अनुसार, नेपाली प्रतिनिधिहरूले नेपालमा वैवाहिक समारोहका लागि आवश्यक उच्चस्तरीय होटल, रिसोर्ट र सेवा सम्बन्धी प्रस्तुति र प्रचारप्रसार गरेका छन्। साथै, बीटुबी बैठक, प्रस्तुति, नेटवर्किङ र छलफल मार्फत नेपाल–भारत बीच वैवाहिक पर्यटन सहकार्य विस्तार गर्ने आधार निर्माण भएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले वैवाहिक पर्यटनलाई नेपालको लागि उच्च सम्भावनायुक्त क्षेत्र भनेका छन्। ‘नेपालमा वैवाहिक पर्यटनका अपार सम्भावना छन्, यहाँ विलासी रिसोर्टदेखि प्राकृतिक र सांस्कृतिक सम्पदासम्मका विविध गन्तव्य उपलब्ध छन्,’ उनले भने।
कार्यक्रममा होटल एसोसिएसन नेपालको अध्यक्ष विनायक शाहले नेपाल र भारतको सहकार्यले वैवाहिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। त्यस्तै, इन्डियन वेडिङ प्लानर एसोसिएसनका अध्यक्ष निरज धवनले भारतीय बजारमा डेस्टिनेसन वेडिङप्रतिको बढ्दो आकर्षणले नेपालका लागि ठूलो अवसर सिर्जना गरेको धारणा व्यक्त गरे। नयाँदिल्लीस्थित नेपाली दूतावासका उपप्रमुख डा. सुरेन्द्र थापाले नेपाल–भारत सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ पार्दै यस्तो कार्यक्रमले द्विपक्षीय पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले बढ्दो वैवाहिक पर्यटन क्षेत्र र पूर्वीय सभ्यतामा विवाहको दर्शनले बोकेको सांस्कृतिक महत्त्वबारे चर्चा गरेका छन्। उनले भारतजस्ता सांस्कृतिक रूपमा समृद्ध बजारका लागि नेपाल उत्कृष्ट वैवाहिक गन्तव्य बन्न सक्ने क्षमता रहेको उल्लेख गरे। ‘हाम्रा आकर्षक गन्तव्य, आतिथि सत्कार र जीवन्त संस्कृतिसहित हामी भारतीय वेडिङ प्लानर र उनीहरूका ग्राहकलाई नेपालको अद्भुत अनुभव दिन तयार छौं,’ उनले भने।
पर्यटन बोर्डका ताजा तथ्यांक अनुसार, भारत नेपालका प्रमुख पर्यटन स्रोत बजारको रूपमा रहेको छ। सन् २०२५ को पर्यटक आगमन तथ्यांकअनुसार नेपाल आउने कुल पर्यटकमध्ये २५.२ प्रतिशत अर्थात् २ लाख ९२ हजार ४ सय ३८ भारतीय रहेको छ। २०२५ मा कुल ११ लाख ५८ हजार ४ सय ५१ पर्यटक नेपाल आएका थिए।