
काठमाडौंमा सम्पन्न रामहरिकृष्ण स्मृति तेस्रो राष्ट्रिय र्यापिड तथा दोस्रो राष्ट्रिय ब्लिट्ज चेस प्रतियोगितामा एफएम क्षितिज भण्डारी र कृतिसरा अधिकारी विजेता घोषित भएका छन्। क्षितिज भण्डारीले र्यापिड विधामा ८.५ अंक र ब्लिट्ज विधामा पूर्ण ९ अंक जोड्दै व्यक्तिगत रेटिङमा उल्लेखनीय सुधार गरेका छन्। महिला राष्ट्रिय र्यापिड विजेता कृतिसरा अधिकारीले ६ अंक जोड्दै १९१० रेटिङ बराबर उत्कृष्ट खेल देखाएकी छन्।
राष्ट्रिय र्यापिड प्रतियोगितामा २१३६ रेटिङ भएका क्षितिज भण्डारीले ९ चरणको स्पर्धामा ८.५ अंक जोडेर उपाधि आफ्नो नाम गरेका छन्। उनले व्यक्तिगत रूपमा ३१.४ रेटिङ वृद्धि गर्दै २३६० को उत्कृष्ट रेटिङ प्रदर्शन गरेका छन्। त्यस्तै, ब्लिट्ज विधामा मकवानपुरका क्षितिज भण्डारीले पूर्ण ९ अंक प्राप्त गरी राष्ट्रिय विजेता घोषणा भएका छन्। महिला राष्ट्रिय र्यापिड विधामा १७५९ रेटिङ भएकी कृतिसरा अधिकारीले एकल ६ अंक प्राप्त गर्दै राष्ट्रिय विजेता भएकी छन्।
यस अवसरमा राष्ट्रिय विजेता क्षितिज भण्डारीलाई नगद रु. ५० हजार पुरस्कार प्रदान गरिएको छ भने महिला विजेता कृतिसरा अधिकारीलाई नगद रु. १५ हजार, ट्रफी, पदक र प्रमाणपत्र दिइएको छ। राष्ट्रिय चेस प्रतियोगितामा १८० जना खेलाडी विभिन्न जिल्लाबाट सहभागी भएका थिए, जसमा ५३ जनाले कुल रु. ३ लाख नगद पुरस्कार विभिन्न विधामा जितेका छन्। कार्यक्रममा सभापतित्व क्लब अध्यक्ष गोपाल मालीले गरेका थिए भने कार्यवाहक मेयर सुनिता डंगोलले बुद्धिचाललाई बौद्धिक खेल भनेर परिभाषित गर्दै काठमाडौं महानगरपालिकाले खेल प्रवर्द्धनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।






