Skip to main content

‘इथा’: इतिहास र कथाको अनुपम मिलन

‘इथा’ उपन्यासले इतिहास र कथाको अनुपम संयोजन प्रस्तुत गर्दै २४०० वर्षअघिको सामाजिक, राजनीतिक र लैङ्गिक सवालहरू उजागर गरेको छ। उपन्यासका तीन महिला पात्र नयनतारा, सैरन्द्री र वसुधाले स्त्री अस्तित्व, शक्ति र विद्रोहको प्रतीकका रूपमा भूमिका निर्वाह गरेका छन्। ‘इथा’ले धार्मिक अन्धविश्वास, पितृसत्तात्मक संरचना र सत्ता–धर्म सम्बन्धमाथि तीव्र आलोचना गर्दै वर्तमान सामाजिक सवालहरूलाई पनि उठाएको छ।

यदि तपाईंलाई कथामा मात्र रुचि छ भने पनि केशव दाहालको नयाँ उपन्यास ‘इथा’ तपाईंको रोजाइ हुन सक्छ; अनि इतिहासमा मात्र रुचि छ भने पनि। दुवै रुचि छन् भने त झन् रमाइलो हुनेछ। किनभने ‘इथा’मा तपाईंलाई इतिहास र कथाको अनौठो समामेलन पाइनेछ। मैले ‘इथा’ पढ्दा यस्तै अनुभव पाएँ। इतिहास जस्तो कथा, कथा जस्तो इतिहास भयो।

उपन्यासको शुरुवात वसुधाको विद्रोहबाट हुन्छ। शरीरमा एउटा ‘दाग’ भएकाले विवाहबाट अस्वीकार गरिएको वसुधाको आत्मदाह केवल व्यक्तिगत पीडा होइन; यो पितृसत्तात्मक मूल्य र सामाजिक संरचनाविरुद्धको मौन तर तीव्र प्रतिरोध हो। यहाँबाट उपन्यासको केन्द्रीय स्वर तय हुन्छ – पुरुषसत्ताको अहङ्कार र स्त्रीमाथिको अन्यायको पर्दाफास।

नयनतारा उपन्यासकी केन्द्रीय पात्र हुन् र उनको विद्रोह उपन्यासको धुरी हो। राजा प्रमातिको अहङ्कार र नयनताराको प्रतिकारले देखाउँछ कि स्त्री केवल पीडित मात्र होइन, प्रतिरोध गर्ने शक्तिशाली पात्र पनि हो। उपन्यासले धार्मिक अन्धविश्वासको कठोर आलोचना गर्छ र धर्म यहाँ आस्था मात्र होइन, सत्ता र शक्ति आर्जनको माध्यमको रूपमा चित्रित हुन्छ।

‘इथा’ पढ्नु केवल कथा पढ्नु होइन, एक समय, चेतना र विद्रोहलाई महसुस गर्नु हो। यसले मनोरञ्जन मात्र होइन, प्रश्न गर्न र मान्यताका पुनर्विचारमा प्रेरित गर्छ।