Skip to main content

गोरुलाई यातना दिने कुमार घर्ती मगरको फेसबुकमा भाइरल भएको भिडियो

कुमार घर्ती मगरले फेसबुकमा गोरुलाई यातना दिने भिडियोहरू पोस्ट गर्दै आएका छन् र कमेन्टमा सुझाइएका उपायहरू कार्यान्वयन गर्ने गरेको स्वीकार गरेका छन्। फेसबुकको कन्टेन्ट नीति अनुसार पशुप्राणीलाई हानी गर्ने, पिट्ने वा क्रूरता देखाउने फोटो भिडियोहरू राख्न पाइँदैन। फेसबुकले त्यस्ता कन्टेन्ट र ती कन्टेन्ट हाल्ने अकाउन्टलाई आफ्नो नीति अनुसार कारबाही गर्न सक्छ। तर, फेसबुकमा भाइरल हुने चासोका कारण अहिले धेरैजसो यही चक्करमा अनेक हर्कत गर्न थालेका छन्। तिनीहरूले गर्ने हर्कतको शिकार अवोध पशुप्राणी हुन्।

कतिपयले कुकुरलाई रक्सी खुवाएको भिडियो बनाएका छन् भने कसैले जोतिरहेको गोरूलाई यातना दिएका छन्। प्यूठानका कुमार घर्ती मगरले बनाएका भिडियोहरूमा देखिन्छ कि उनले बारीमा जोत्ने गोरूलाई यातना दिँदै आएका छन्। एउटा भिडियोमा उनले दुई वटा लठ्ठीको बीचमा गोरुको पुच्छर राखेर च्यापिदिन्छन्। अर्को भिडियोमा गोरुको शरीरभरि माटो दलिदिएका छन्। त्यस्तै अर्को भिडियोमा गोरुको नाक ठ्याप्पै बन्द गरिदिएर श्वास फेर्न रोकिदिन्छन्।

पोस्ट गरेका भिडियोहरू हेर्दा देखिन्छ कि उनका एउटा गोरु जोत्ने बेलामा थचक्क बसेको हुन्छ। उनलाई त्यस्तै अवस्था बनाएको भिडियो मगरले फेसबुकमा शेयर गर्ने गर्छन्। भिडियो हेर्नेहरू कमेन्टमा यस्ता गोरुलाई कसरी तह लगाउने भनेर विभिन्न उपाय सुझाव दिँदछन्। ती सुझाव अनुसार नै उनले अवोध गोरुलाई सजाय दिने गरेको आफैंले स्वीकार गरेका छन्। उनले गोरुलाई यातना दिने खालका हर्कत गरिरहेको देखिन्छ। उनका भिडियोहरूमा धेरै भ्युज आउने गरेको छ। जस्तै, गोरुको शरीरभरि माटो दलिएको भिडियोमा १० लाखभन्दा बढी भ्युज आएको छ।

पशु अधिकारकर्मीहरूले उनका यस्ता हर्कतलाई गैरकानुनी ठहराएका छन्। वरिष्ठ अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार, कुनै व्यक्तिले पशुप्राणीलाई दुःख दिने काम गरेमा प्रचलित कानुन अनुसार कारबाही हुनेछ। पशु क्रूरता निवारण ऐन, २०७३ अनुसार, पशुलाई क्रूर व्यवहार गर्ने, यातना दिने वा अनावश्यक पीडा दिने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।