Skip to main content

अमिताभ कान्तले नेपालको आर्थिक समृद्धिका लागि नयाँ नीतिहरूको सुझाव दिएका छन्

२० वैशाख, काठमाडौँ । भारतीय नीति तथा योजनाविद् अमिताभ कान्तले नेपालको आर्थिक समृद्धिका लागि साहसिक नीतिगत सुधार, डिजिटल पूर्वाधारमा लगानी र उच्च मूल्यको पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताएका छन्। बाह्रखरी मिडियाले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको अर्थतन्त्र : सम्भावनाको उजागर’ विषयक विचार गोष्ठीमा सम्बोधन गर्दै उनले सरकारले नियन्त्रक होइन, सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने बताए। ‘धेरै इजाजतपत्र, धेरै निरीक्षण र कर्मचारीतन्त्रको स्वविवेकीय अधिकारले भ्रष्टाचार बढाउँछ,’ कान्तले भने, ‘सरकारले नियन्त्रक नभई, सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्छ। नेपाललाई व्यवसायका लागि विश्वमै सजिलो देश बनाउनुपर्छ।’ उनले नेपालले आगामी तीन दशकसम्म वार्षिक ९ देखि १० प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राख्न सुझाव दिए। हालैको निर्वाचन र युवा पुस्ताको आकाङ्क्षालाई स्मरण गर्दै उनले नयाँ पुस्ताले सुशासन, इमानदारिता र आर्थिक रूपान्तरणको खोजी गरेको बताए। प्रधानमन्त्री बालेन्द्र शाहलाई प्राप्त जनादेशको सफल कार्यान्वयनका लागि शुभकामना दिँदै उनले नेपाल र भारतबीचको मित्रता तथा सहयोगलाई थप सुदृढ बनाउनु पर्नेमा जोड दिए।

एक दशकअघि भारत विश्वका पाँच कमजोर अर्थतन्त्र (फ्राजाइल फाइभ) मध्ये एक रहेको स्मरण गर्दै कान्तले संरचनागत सुधार, व्यापक ‘डिजिटलाइजेसन’ र पूर्वाधार निर्माणका कारण आज भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बन्न सफल भएको जानकारी दिए। नेपालका लागि पनि यी अनुभव सान्दर्भिक हुन सक्ने उनको भनाइ छ। नेपालको भौगोलिक जटिलतालाई सजिलो बनाउन डिजिटल पूर्वाधार सबैभन्दा प्रभावकारी माध्यम हुने बताए। उनले भारतले ‘डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर’ मार्फत ७१० भन्दा बढी सरकारी योजनाको लाभ सीधै सर्वसाधारणको बैंक खातामा पुर्‍याई भ्रष्टाचार र चुहावट शून्यमा झारेको उदाहरण पनि दिए। नेपालले पनि टेलिकम र आइटी क्षेत्रलाई प्राथमिकता दिँदै फाइभ-जी प्रविधिमा फड्को मार्नुपर्ने र यसले स्वास्थ्य, शिक्षा र रोजगारीमा आमूल परिवर्तन ल्याउने तर्क उनले राखे।

नेपालको विकासमा बाधक रहेका पुराना ऐन, नियम र झन्झटिला प्रक्रियाहरू खारेज गर्न उनले नियमनकारी कटौतीको अवधारणा अघि सारे। पर्यटनलाई नेपालको ‘फोर्स मल्टिप्लायर’ का रूपमा व्याख्या गर्दै उनले नेपाललाई ‘बजेट ट्रेकिङ गन्तव्य’ बाट माथि उठाएर ‘लक्जरी’ गन्तव्यका रूपमा विकास गर्न सुझाव दिए। ‘नेपालजस्तो अद्वितीय पर्यटकीय क्षेत्रलाई कम मूल्यमा बेच्नु हुँदैन,’ उनी भने, ‘प्रतिरात कम्तीमा १५०० डलर खर्च गर्ने पर्यटक भित्र्याउने गरी पूर्वाधार र ब्रान्डिङ गरिनुपर्छ।’ अयोध्या र जनकपुरलाई जोड्ने ‘रामायण सर्किट’ जस्ता अन्तरदेशीय पर्यटन परियोजनाबाट लाभ लिन सकिने बताए। यस्तै, नेपालले शतप्रतिशत विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिँदै विश्वकै लागि दिगो र हरित विकासको नमुना बन्नुपर्नेमा उनले जोड दिए। जलविद्युत्, कृषि प्रशोधन र सूचना प्रविधि जस्ता तुलनात्मक लाभका क्षेत्रमा केन्द्रित हुन उनले आग्रह गरे। आर्थिक विकासको नेतृत्व निजी क्षेत्रले गर्नुपर्ने भए पनि त्यसमा इमानदारिता अपरिहार्य रहेको कान्तले बताए। राजनीतिज्ञ र व्यवसायीबीचको अपारदर्शी साँठगाँठले देश विकासमा बाधा पुर्याउने हुँदा उनले युवा उद्यमीहरूलाई प्रवर्द्धन गर्न र महिला सहभागिता बढाउन सुझाव दिए। नेपालको विकासमा भारतको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाउँदै कान्तले नेपालको भौगोलिक र सांस्कृतिक विरासतलाई आधुनिक प्रविधिसँग जोडेर अघि बढ्न सुझाव दिए।