
समाचार सारांश समीक्षा गरी तयार गरिएको। विश्व बैंक र अन्तर्राष्ट्रिय दूरसञ्चार संघका अनुसार पछिल्ला दुई दशकमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ अर्बबाट ५ अर्ब पुगेको छ। विश्व स्वास्थ्य संगठनले पछिल्ला वर्षहरूमा मानसिक स्वास्थ्यलाई एक्काइसौं शताब्दीको निर्णायक चुनौती भनेको छ। अमेरिकी प्राध्यापक काल न्युपोर्टका अनुसार प्रविधिको अनियन्त्रित र अव्यवस्थित प्रयोगले मानिसको ध्यान र समय नियन्त्रण गर्ने क्षमता घट्दै गएको छ। प्रविधि मानव सभ्यताको सबैभन्दा ठूलो उपलब्धि हो। यसले उत्पादन, सञ्चार, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको छ। विश्व बैंक र अन्तर्राष्ट्रिय दूरसञ्चार संघका अनुसार पछिल्ला दुई दशकमा विश्वमा इन्टरनेट प्रयोगकर्ताको संख्या १ अर्बभन्दा कमबाट ५ अर्बभन्दा बढी पुगेको छ, जसले सूचनाको पहुँचलाई सर्वव्यापी बनाएको छ। डिजिटल विश्लेषक साइमन केम्पका अनुसार हाल सामाजिक सञ्जाल प्रयोगकर्ता करिब ५.६ अर्बभन्दा बढी पुगेका छन्। यसैले भिडियो कल, रियल-टाइम मेसेजिङ र डिजिटल प्लेटफर्महरूले मानिसबीचको सम्पर्कलाई क्षणभरमै सम्भव बनाएका छन्। उत्पादन क्षेत्रहरू जस्तै औद्योगिक स्वचालन, रोबोटिक्स र डेटा-आधारित उत्पादन प्रणालीले दक्षता बढाएको छ। म्याकिन्से ग्लोबल इन्स्टिच्युटको अध्ययन अनुसार डिजिटल प्रविधिको प्रयोगले उत्पादनशीलता २० देखि ३० प्रतिशतसम्म वृद्धि गरेको छ।
प्रविधिको प्रयोगले समय र स्रोतको बचत मात्र होइन, लागत घटाउने र गुणस्तर सुधार गर्ने क्षमता पनि दिएको छ। बैङ्किङ प्रणाली डिजिटल भुक्तानी, मोबाइल बैङ्किङ र अनलाइन लेनदेनमा परिवर्तन भएको छ। शिक्षा क्षेत्रमा अनलाइन लर्निङ प्लेटफर्म, भर्चुअल कक्षा र खुला शैक्षिक स्रोतहरूले ज्ञानको पहुँचलाई भौगोलिक सीमाभन्दा बाहिर पुर्याएका छन्। स्वास्थ्य क्षेत्रमा टेलिमेडिसिन, डिजिटल डायग्नोस्टिक्स र एआई-आधारित उपचार प्रणालीले उपचारलाई छिटो र प्रभावकारी बनाएको छ। मानव जीवन बाहिरी रूपमा सुविधासम्पन्न देखिन्छ। तर सुविधा बढेसँगै जीवन सरल हुनुपर्नेमा वास्तविकता उल्टो छ। प्रविधिले समय बचत गरिदिएको छ तर ध्यान र ज्ञान निरन्तर खण्डित गरिरहेको छ। मानिससँग सूचना अत्यधिक छ तर बुझाइ गहिरो छैन। क्षणभरमा नै सम्बन्धहरू विस्तार भएका छन् तर आत्मीयता र विश्वास घट्दैछ। यही विरोधाभासलाई विचारकहरूले ‘सुविधाभित्र लुकेको संकट’ को रूपमा व्याख्या गरेका छन्।
प्रविधिको विकासले मानव जीवनलाई सहज बनाउने उद्देश्य राखे पनि यसको तीव्र र अनियन्त्रित विस्तारले नै आजको संकट जन्माएको हो। वास्तविकता के हो भने मानिस मानसिक रूपमा बढी विचलित, सामाजिक रूपमा बढी एक्लो र बौद्धिक रूपमा सतही हुँदै गएको छ। चेतना, सामाजिक सम्बन्ध र वास्तविकता बुझ्ने क्षमतामा क्रमशः ह्रास आउँदैछ। जीवन बाहिरबाट व्यवस्थित देखिन्छ, भित्रबाट उति नै अस्थिर, विखण्डित र अनिश्चित बन्दै गएको छ। यसैले आधुनिक युग प्रगतिको मात्र नभई मानव जीवनको संकटको युग बन्न पुगिरहेको छ; जहाँ संकट भौतिक नभई चेतना, अर्थ र नियन्त्रणको हो।
अमेरिकी प्राध्यापक काल न्युपोर्टका अनुसार प्रविधि समस्या होइन, यसको अव्यवस्थित र अविचारपूर्वक प्रयोग हो। आज मानिस प्रविधिलाई औजारको रूपमा भन्दा पनि त्यसको प्रभावमा बाँचेको छ। सामाजिक सञ्जाल, नोटिफिकेसन र निरन्तर सूचना प्रवाहले मानिसको जीवनलाई मानसिक निर्भरता बाँधेको छ। यसले मानिसले आफ्नो ध्यान, समय र ऊर्जा आफैंले नियन्त्रण गर्न सक्ने क्षमता कम गरिरहेको छ। पहिले ज्ञान दीर्घकालीन ध्यान, अध्ययन र आत्मचिन्तनको प्रक्रियाबाट निर्माण हुन्थ्यो। पुस्तक पढ्दा मानिस लामो समय एउटै विचारसँग बस्न बाध्य हुन्थ्यो, जसले विचारलाई गहिरो रूपमा बुझ्ने अवसर दिन्थ्यो। अहिलेको डिजिटल वातावरणमा पढाइ निरन्तर विच्छेदको बीचमा हुन्छ; एक लिंकबाट अर्को लिंक, एक नोटिफिकेसनबाट अर्को सूचनातिर ध्यान सर्दै जान्छ।
सामाजिक सञ्जालले सम्बन्धलाई गुणात्मक नभएर परिमाणात्मक बनाइदिएको छ। सोसल मिडियामा हजारौं साथी वा फलोअर भए पनि त्यही अनुपातमा आत्मीयता, विश्वास र भावनात्मक नजिकपन घटेको छ। ज्ञानको स्वरूप “गहिरो संरचना” बाट “सतही स्क्यानिङ” मा रुपान्तरित भएको छ। मानिसले धेरै जानकारी देख्छ तर थोरै बुझ्छ; धेरै कुरा थाहा हुन्छ तर थोरै सम्झन्छ। सूचना छिटो प्राप्त हुन्छ तर त्यसलाई विश्लेषण, संयोजन र दीर्घकालीन ज्ञानमा रुपान्तरण गर्ने क्षमता कमजोर हुँदै गएको छ। माइक्रोसफ्ट क्यानडाले प्रकाशित गरेको एक अध्ययन अनुसार मानिसको औसत ध्यान अवधि लगभग ८ सेकेन्ड मात्र छ। सामाजिक सञ्जालमा प्रसारित छोटा भिडियो र निरन्तर सूचना प्रवाहले मानिसलाई “दीर्घ ध्यान” बाट “क्षणिक ध्यान” तर्फ धकेलेको छ। यसका कारण गहिरो अध्ययन, आलोचनात्मक सोच र धैर्य घट्दै गएको छ।
निकोलस कारको पुस्तक ‘द स्यालोलज’ मा उल्लेख गरिए अनुसार निरन्तर सूचना प्रवाहले मानव मस्तिष्कको कार्यप्रणाली नै परिवर्तन गरिरहेको छ। डिजिटल माध्यममा पढ्ने, स्क्रोल गर्ने र छिटो जानकारी ग्रहण गर्ने बानीले हाम्रो ध्यानलाई खण्डित बनाउँछ र गहिरो चिन्तनको क्षमता कमजोर पार्छ। क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानहरूले पनि यो कुरा पुष्टि गरेका छन्। विश्व स्वास्थ्य संगठन अनुसार विश्वभर लगभग १ अर्ब मानिस कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट प्रभावित छन्। यो तथ्य केवल स्वास्थ्य सम्बन्धी आँकडा मात्र नभई आधुनिक सभ्यताको गहिरो संकटको संकेत पनि हो। विशेषगरी डिजिटल प्रविधिको अत्यधिक प्रयोग, सहरीकरण र अनिश्चित जीवनशैलीले मानिसको मानसिक सन्तुलनमा निरन्तर दबाब सिर्जना गरिरहेको छ।
सामाजिक सञ्जालमा देखिने कृत्रिम सफलता र जीवनशैलीले धेरै व्यक्तिमा आत्मअसन्तुष्टि, चिन्ता र तनाव बढाएको छ। यसै कारण विश्व स्वास्थ्य संगठनले मानसिक स्वास्थ्यलाई एक्काइसौं शताब्दीको निर्णायक चुनौती भनेको छ। युरोपअन्तर्गत गरिएको एचबीएससी अध्ययनअनुसार बालबालिकामा सामाजिक सञ्जालको अस्वस्थ वा नियन्त्रणहीन प्रयोगको दर करिब ७ प्रतिशतबाट ११ प्रतिशत पुगेको छ। हार्भर्ड लगायतका विभिन्न अनुसन्धानहरूले सामाजिक सञ्जाल प्रयोग र एक्लोपनबीच गहिरो सम्बन्ध देखाएका छन्। सामाजिक सञ्जालले किशोरकिशोरी र युवा वर्गलाई जोडिएको देखिए तापनि धेरै प्रयोगले एक्लोपन बढाउने देखिन्छ। यही कारण पछिल्ला दुई दशकमा किशोरकिशोरीहरूमा चिन्ता र डिप्रेसनको दर उल्लेखनीय रूपमा बढेको छ, जुन केवल जैविक वा व्यक्तिगत कारणले मात्र नभई सामाजिक-प्राविधिक वातावरणसँग पनि गहिरो सम्बन्धित छ।
सामाजिक सञ्जालले सम्बन्धहरूलाई गुणात्मक नभएर परिमाणात्मक बनाइदिएको छ। हजारौं साथी वा फलोअर हुँदा पनि आत्मीयता, विश्वास र भावनात्मक नजिकपन घटेको छ। सञ्जालले सम्बन्धको दायरा विस्तार गरेको छ तर गहिराइ कम गरेको छ। फ्रान्सेली समाजशास्त्री जिन बोड्रिलार्डका अनुसार आधुनिक समाज ‘हाइपररियालिटी’ अर्थात् सिर्जित वास्तविकतामा प्रवेश गरिरहेको छ; जहाँ वास्तविक अनुभवभन्दा डिजिटल प्रतिनिधित्व बढी प्रभावशाली हुन्छ। मानिसले जीवन बाँच्नुभन्दा त्यसलाई देखाउन बढी महत्त्व दिन थाल्छ। आजको युगको गहिरो सत्य यही हो- प्रविधि होइन, मानव चेतनाको दिशा नै भविष्य निर्धारण गर्ने मुख्य शक्ति हो।
प्रमुख कारण छ, डिजिटल सम्बन्धहरू प्रायः प्रदर्शनमा आधारित हुन्छन्; जहाँ मानिस आफ्नो वास्तविक अवस्थाभन्दा कृत्रिम छवि प्रस्तुत गर्छ। लाइक, कमेन्ट र सेयरले सामाजिक स्वीकृतिको संकेत दिन्छन्, जसले व्यक्ति वास्तविक अनुभवभन्दा अरूलाई प्रभावित पार्ने सामग्री प्रस्तुत गर्न प्रेरित गर्छ। यसकारण सम्बन्धहरू यथार्थभन्दा धारणामा आधारित हुँदै गएका छन्, स्वाभाविकभन्दा रणनीतिक बन्दैछन्। जब सम्बन्धको आधार वास्तविक अनुभव होइन, तर डिजिटल प्रस्तुति हुन्छ; तब त्यसमा गहिराइ, स्थायित्व र विश्वसनीयता अत्यन्तै कमजोर हुन्छ।
सञ्जालहरूमा फैलिएको सूचना ज्ञान बन्नुभन्दा पहिले नै उपभोग्य सामग्री बनेको छ। प्लेटफर्महरूका लागि सूचना ज्ञान होइन, ध्यान आकर्षित गर्ने वस्तु हो। जसले ध्यान जित्छ, त्यसले मूल्य जित्छ। ध्यान आकर्षित गर्ने सबैभन्दा प्रभावकारी माध्यम प्रायः तथ्य होइन, भावना हो। आक्रोश, डर, उत्साह, कुण্ঠा वा विवादजस्ता तीव्र भावनाले मानिसलाई तुरुन्त प्रतिक्रिया दिन प्रेरित गर्छ। यसैले आक्रोशपूर्ण पोस्टहरू छिटो फैलिन्छन् र विवादास्पद सामग्री बढी साझा हुन्छ। सामाजिक सञ्जालका एल्गोरिदमहरूको मुख्य लक्ष्य गुणस्तर होइन, संलग्नता हो। कुन सामग्री सही छ भन्नेभन्दा बढी क्लिक, लाइक, सेयर र कमेन्ट ल्याउने सामग्री प्राथमिक हुन्छ। यसले भावनात्मक सामग्रीलाई बढी स्थान दिन्छ; चरम आक्रोश, कुण्ठा र प्रतिक्रियाहरू बढी ट्रेन्डिङ हुन्छन्। फलस्वरूप सत्य र तथ्य कमजोर हुन्छ। यो केवल प्रयोगकर्ताको छनोट नभई प्रणालीगत डिजाइनको परिणाम हो।
प्रविधिले गोपनीयता र स्वतन्त्रतामाथि प्रश्न उठाएको छ। डेटा सङ्कलन र एल्गोरिदमहरूले मानिसको व्यवहार मात्र नभई सोचाईलाई समेत प्रभाव पार्छन्। यसले व्यक्तिलाई स्वतन्त्र निर्णयकर्ता नभई निर्देशित उपभोक्ता बनाएको छ। अन्त्यमा, समस्या प्रविधि आफैंमा होइन, यसको प्रयोग गर्ने तरिका र त्यसलाई निर्देशित गर्ने सामाजिक-आर्थिक संरचनामा लुकेको छ। प्रविधि मानव सुविधाका लागि विकसित उपकरण हो, जसले समय बचत, सूचनाको पहुँच सजिलो र जीवनलाई प्रभावकारी बनाउँछ। जब चेतना सचेत, सन्तुलित र उद्देश्यपूर्ण रहन्छ, तब प्रविधि ज्ञान, सिर्जना र अर्थपूर्ण जीवन निर्माण गर्ने शक्तिशाली साधन बन्न सक्छ।
यसैले आजको युगको गहिरो सत्य यही हो- प्रविधि होइन, मानव चेतनाको दिशा नै भविष्य निर्धारण गर्ने मुख्य शक्ति हो। तर जब यसको प्रयोग असन्तुलित, अनियन्त्रित र केवल उपभोगमुखी हुन्छ, तब यही सुविधा नै मानव संकटको रूपमा परिणत हुन्छ।






