Skip to main content

आईपीएल २०२६ को प्लेअफ तालिका सार्वजनिक, फाइनल अहमदाबादमा हुने

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल २०२६ को प्लेअफ तालिका सार्वजनिक गरेको छ। प्लेअफ अन्तर्गत क्वालिफायर १ मे २६ धर्मशालामा, इलिमिनेटर मे २७ चण्डीगढमा हुनेछ। फाइनल मे ३१ अहमदाबादको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आयोजना हुनेछ। २३ वैशाख, काठमाडौं।

आईपीएलमा लिग चरणका ४८ खेल सम्पन्न भइसकेका छन् भने अब २२ खेल मात्र बाँकी छन्। यसअघि लिग चरणसम्मको तालिका सार्वजनिक गरिएको थियो भने अब प्लेअफको तालिका पनि सार्वजनिक भएको छ। प्लेअफ अन्तर्गत शीर्ष दुई टोलीबीचको क्वालिफायर १ मे २६ मा हिमाचल प्रदेश क्रिकेट स्टेडियम धर्मशालामा हुनेछ, जसको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ।

तेस्रो र चौथो स्थानमा रहेका टोलीबीचको इलिमिनेटर मे २७ मा चण्डीगढस्थित न्यु पीसीए अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ। यस्तै मैदानमा मे २९ मा क्वालिफायर २ खेलाइनेछ, जहाँ क्वालिफायर १ मा पराजित टोली र इलिमिनेटरको विजेता टोलीबीच फाइनलमा पुग्न प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल भने मे ३१ मा गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा आयोजना हुनेछ।

धर्मशाला र चण्डीगढ दुवै पञ्जाब किङ्सको घरेलु मैदान हुन् भने नरेन्द्र मोदी स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान हो। यस सिजन विशेष परिस्थितिका कारण प्लेअफ खेलहरू तीन फरक मैदानमा सञ्चालन गरिने जनाइएको छ। यसअघि फाइनल बेंगलुरुमा हुने तय भए पनि स्थानीय निकाय र व्यवस्थापनसम्बन्धी कारणले स्थान परिवर्तन गरेर अहमदाबादमा सारिएको बीसीसीआईले जनाएको छ।

प्लेअफ तालिका:
पहिलो क्वालिफायर: मे २६ (धर्मशाला)
इलिमिनेटर: मे २७ (चण्डीगढ)
दोस्रो क्वालिफायर: मे २९ (चण्डीगढ)
फाइनल: मे ३१ (अहमदाबाद)