Skip to main content

रोहित र रिकेल्टनको उत्कृष्ट ब्याटिङमा मुम्बईको विजयी प्रदर्शन

मुम्बई इन्डियन्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ। मुम्बईले १८.४ ओभरमा २२९ रनको लक्ष्य ४ विकेट गुमाएर पूरा गरेको छ। ओपनर रोहित शर्मा र रायन रिकेल्टनले उत्कृष्ट ब्याटिङ प्रदर्शन देखाएका थिए। रोहित शर्माले ४४ बलमा ८४ रन बनाए भने रिकेल्टनले ३२ बलमा ८३ रन प्रहार गरे। यी दुईले पहिलो विकेटका लागि १४३ रनको महत्वपूर्ण साझेदारी गरे। नमन धिर २३ रनमा अविजित रहे।

लखनउका मनिमरन सिद्धार्थले २ विकेट लिए भने मोहम्मद शामी र मोहसिन खानले १-१ विकेट लिए। टस हारेर पहिले ब्याटिङ गर्न आएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २२८ रन बनाएको थियो। सुरुवाती १० ओभरमा १ विकेट गुमाएर १४१ रन बनाएको भएपनि, त्यसपछिको १० ओभरमा अपेक्षित रन बनाउन असमर्थ भयो। निकोलस पूरनले सर्वाधिक ६३ रन बनाए। उनले २१ बलमा १ चौका र ८ छक्का प्रहार गर्दै १६ बलमै अर्धशतक पूरा गरेका थिए। मिचेल मार्शले ४४ र एइडेन मार्क्रमले अविजित ३१ रन बनाए। मुम्बईका कर्बिन बोशले २ विकेट लिए भने रघु शर्मा र विल ज्याक्सले १-१ विकेट लिए। यस जितसँगै मुम्बईले १० खेलमा ६ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ भने, ९ खेलमा ४ अंक भएको लखनउ १०औं स्थानमा छ।