Skip to main content

बेरोजगारीले यौनकर्ममा धकेल्यो, अपहेलनाले डिप्रेसन बढायो

नेपालमा करिब २९ हजार तेस्रोलिंगी छन्, तीमध्ये ७६ प्रतिशतभन्दा बढी यौनकर्मबाट जीविका चलाउँछन्। तेस्रोलिंगीले नागरिकता लिन अझै संघर्ष गरिरहेका छन्, मेडिकल प्रमाण माग्ने प्रवृत्तिले प्रक्रिया झन्झटिलो भएको छ। तेस्रोलिंगी समुदायमा आत्महत्या, हिंसा र लागुऔषधको लत उच्च छ, सरकारको संरक्षण र जागिरको अवसर अभाव छ।

काठमाडौंको थापाथलीमा भिडभाड पातलिँदैछ। केही पर चिया पसलमा एकाध ग्राहक छन्। सडक बत्तीको प्रकाशमा मान्छेको छायाँ प्रस्ट देखिन थालेका छन्। त्यही उज्यालोबाट छेलिएर भित्तामा अडेसिएकी छिन्, बोबी तामाङ (परिवर्तित नाम)। २९ वर्षीया बोबी ट्रान्सजेन्डर हुन् र यौनकर्मी पनि। उनले यसरी सडकमा ओर्लिएर रात गुजार्न थालेको ४ वर्ष बितेछ। यी ४ वर्षका हरेक रातहरू एक अन्त्यहीन पर्खाइमा बिते।

बोबी एक प्रतिनिधि हुन्, जो ट्रान्सजेन्डर हुनुकै कारण यौनकर्ममा लाग्नुपरेको छ। उनी जस्ता अरू थुप्रैले यही काम गरिरहेका छन्, केवल बाँच्नका खातिर। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा करिब २९ हजार तेस्रोलिंगी छन्। तीमध्ये लगभग ७६ प्रतिशतभन्दा बढीको मुख्य जीविका यौनकर्मबाट चलेको छ। शीतल गुरुङ भन्छिन्, “हामीले के गरेर खाने त? कसैले जागिर दिँदैन, कसैले काममा लगाउँदैन।”

जब बाँच्नका लागि पैसा चाहिन्छ र सबै बाटो बन्द हुन्छ, उनीहरूका लागि सडक बाँकी रहन्छ। यो पेशा होइन, उनीहरूको बाँच्ने अन्तिम विकल्प अनि बाध्यता बन्छ। तेस्रोलिंगीसँग जीविकापार्जनका लागि मुख्य विकल्प नाचगान र देह व्यापार मात्र बाँकी हुने जनकपुरका मानवअधिकारकर्मी प्रदिप कुमार बताउँछन्। उनले भने, “समाजले पहिले त बुझेन, पछि घृणा गर्‍यो, अहिले केही ठाउँमा स्वीकार गर्न थालिएको छ।”