Skip to main content

जुनियर मिस्टर बिन: जतिन थान्वीको अनौठो यात्रा

जतिन थान्वीले मिस्टर बिनको पात्रलाई भारतीय परिवेशमा ढाल्दै टाई र ब्लेजर लगाएर अभिनय गर्छन्। चिनियाँ एपलाई भारतले टिकटकमाथि प्रतिबन्ध लगाउनुभन्दा केही महिना पहिला मात्र जतिन थान्वी यो एपसँग जोडिएका थिए। त्यो बेला उनी २० वर्षका थिए र आर्किटेक्चरका विद्यार्थी थिए। उनले एपमा साधारण डान्स ट्रेन्ड र चुनौतीका भिडियोहरू बनाए। तर, उनलाई केही नयाँ गरिनुपर्ने लाग्यो। त्यसपछि उनले ९० को दशकका चर्चित टेलिभिजन पात्र ‘मिस्टर बिन’को नक्कल गरी भिडियो बनाउन थाल्ने सोच बनाए। र, उनले पहिलो भिडियो पोस्ट गरे। सामान्य अवस्थामा पनि उनी मिस्टर बिनसँग देखिनमा मिल्ने थिए, उनका साथीहरूले पनि त्यस्तै भन्थे। मिस्टर बिनको जस्तै पोशाकमा त्यस्तो भिडियो बनाएर उनले रातारात टिकटकमामा भाइरल भए। छोटो समयमा नै ५ करोड ६० लाख (५६ मिलियन) भन्दा बढी भ्यूज प्राप्त भयो। त्यसयता उनको परिचय नै परिवर्तन भयो। उनका भविष्यको बाटो नै मोडियो। आज जतिन ‘जुनियर मिस्टर बिन’ बनेका छन्। भारतीय मिस्टर बिन बनेका छन्। धेरैले उनलाई यही नामले चिन्छन् र उनी पनि यही नै चाहन्छन्।

सन् १९९० र २००० को दशकमा रोवन एटकिन्सनले निभाएको मिस्टर बिनको चरित्र पछ्याउनु उनको विशेषता हो। त्यसमा उनले नवीनता थपेर पात्रलाई भारतीय परिवेशमा रूपान्तरण गर्छन्। जसरी मिस्टर बिन धेरै बोल्दैनन्, तर हाउभाउ र अनुहारबाट दर्शकलाई हाँसाउन सक्ने क्षमता राख्छन्, जतिन पनि त्यसैगरी गर्छन्। मिस्टर बिनप्रति सम्मान व्यक्त गर्दै उनले आफ्ना भिडियोहरूमा नियमित टाई र ब्लेजर लगाउने गर्छन्। मिस्टर बिनको साथी टेडी बोकेर पनि देखाउँछन्। साथै मिस्टर बिनको जस्तै अस्पष्ट र धोद्रो आवाजको नक्कल पनि गर्छन्। अहिले उनी कतिपय कार्यक्रममा समेत भाग लिन जान्छन् र ति ठाउँमा मिस्टर बिनका विविध अभिनय प्रस्तुत गर्छन्।

तर किन मिस्टर बिन नै? जतिनका अनुसार उनलाई सानैदेखि धेरैले मिस्टर बिन जस्तै देखिन्छ भन्थे। उनलार्इ पनि मिस्टर बिन निकै मन पर्थ्यो। उनी विद्यालय र गाउँघरमा हुने फेन्सी ड्रेस प्रतियोगितामा पनि मिस्टर बिनजस्तै भेषमा जान्थे। मिस्टर बिनले शब्द प्रयोग नगरी हाउभाउबाटै हाँसाउने शैलीका जतिन त्यस्ता ठूलो फ्यान थिए। एक अन्तर्वार्तामा एटकिन्सनले मिस्टर बिनलाई वयस्क शरीर भएको बालक भएको भनेर वर्णन गरेका थिए। सबै जाति र संस्कृतिमा बालबालिकाको व्यवहार करिब समान हुन्छ, जुन सबैले सहजै ‘रिलेट’ गर्न सक्छन्। यसले जतिनलाई पनि धेरै असर पारेको थियो। सानैदेखि लजालु र कमजोर स्वभावका जतिन त्यति धेरै आत्मविश्वासी थिएनन्। बाल्यकालमा झगडाका कारण साथी गुम्ने डर उनलाई सधैं लाग्थ्यो। तर जब उनी पर्दामा मिस्टर बिनलाई हेर्थे, आफ्ना समस्या क्रमशः हट्दै गइरहेको महसुस गर्थे, किनकि मिस्टर बिन सामाजिक नियमहरूको पालना गर्दैनथे र उनलाई त्यसको कुनै मतलब पनि थिएन। जतिनका अनुसार, मिस्टर बिन यस्तो व्यक्ति हुन् जसलाई कसैको आवश्यक पर्दैन र अरूले के भन्छन् भन्ने कुरा उनलाई कुनै मतलब हुँदैन। त्यसैले जतिनले आफैँ पर्याप्त हुनुपर्छ भनी बुझे, जसले उनको आत्मविश्वास बढायो। त्यसपछि उनले आफ्नो संकोच, डर र असामान्यतालाई मुक्त गर्ने माध्यम अभिनय रहेको बुझे। त्यसपछि उनी जुनियर मिस्टर बिन बने। उनको यो कामले नयाँ पुस्तामा मिस्टर बिनलाई जोड्न सफल भएको छ र जतिन आफैले सबैभन्दा बढी यसबाट रमाइलो गरिरहेका छन्।