
समाचार सारांश अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा आफूलाई कुनै रुचि नभएको स्पष्ट पारेका छन्। खगेन्द्रले सामाजिक सञ्जालमा फैलिएको अध्यक्ष बन्ने चर्चा र त्यससम्बन्धी भिडियो तथा पोस्टरप्रति प्रतिक्रिया दिएका छन्। सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गरेपछि केन्द्रीय चलचित्र जाँच समितिका ३ जना पदाधिकारी पदमुक्त भएका छन्।
काठमाडौं । चलचित्र विकास बोर्डको आगामी अध्यक्ष बन्ने चर्चा गरिँदै गर्दा अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले आफू उक्त पदमा कुनै रुचि नरहेको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमा आफू बोर्ड अध्यक्ष बन्न लागेको भनी छरिएका खबरप्रति प्रतिक्रिया दिँदै उनले आफू कला र साहित्यकै क्षेत्रमा सक्रिय रहने बताएका छन्। खगेन्द्रले फेसबुकमार्फत अपिल जारी गर्दै आफ्नो मन कहिल्यै साहित्य र कला छोडेर अन्यत्र नझुक्ने बताएका छन्।
उनले लेखन, रंगमञ्चबाट चलचित्र क्षेत्रमा प्रवेश गरेको याद गर्दै यही क्षेत्रमा काम गरी जीवन बिताउने चाहना रहेको उल्लेख गरे। उनले पछिल्लो समय सामाजिक सञ्जालमा ‘चलचित्र विकास बोर्डको अबको अध्यक्ष खगेन्द्र लामिछाने’ भन्ने चर्चा फैलिएको र त्यससँग सम्बन्धित भिडियो तथा पोस्टर समेत बनेको जानकारी दिए।
त्यसपछि आफूलाई बधाई फोन र सन्देशहरू धेरै आएको उल्लेख गर्दै सहकर्मी र अग्रजहरूको विश्वास प्राप्त भएको महसुस गरेको बताए। तर आफूलाई चासो नलाग्ने विषयमा अनावश्यक चर्चा चलाएकोमा दुःख लागेको पनि उनले बताए। ‘मलाई मतलब नलाग्ने कुराको चर्चा कसरी चल्यो?’ भन्दै त्यस्ता प्रचारलाई प्राथमिकता नदिन आग्रह गरे। खगेन्द्रले आफू कलाकार, लेखक, निर्माता र निर्देशकको रूपमा चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहेको र चलचित्र क्षेत्र तथा निर्माताको हितका लागि विगत केही वर्षदेखि सक्रिय रूपमा काम गरिरहेको बताए।
उनले आफ्नो बुवाले आफूलाई कलेज प्राध्यापक बनाउन चाहेर पनि आफूले कलाकार र लेखक बन्ने निर्णय लिएको उल्लेख गर्दै ‘मेरो मनले जे भन्यो, मैले त्यही गरें’ भने। सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गरेपछि केन्द्रीय चलचित्र जाँच समितिका ३ जना पदाधिकारी पदमुक्त भएका छन्। चलचित्र विकास बोर्डको कार्यसमिति भने यथावत् रहेको छ। बोर्डका वर्तमान अध्यक्ष दिनेश डीसीको कार्यकाल आउँदो भदौसम्म कायमै छ।






