
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको व्याख्या सबैले पालना गर्नुपर्ने बताएका छन्। शर्माले संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ संकेत गर्दै संविधानको धारा १२८(४) उद्धृत गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उत्तर कोरियाको उदाहरण दिँदै न्यायीक इतिहासमा पञ्चायतले नगरेको कर्मको दाग नबोक्न गम्भीर मनन गर्न आग्रह गरेका छन्। २४ वैशाख, काठमाडौं।
उपसभापति शर्माले ६ सदस्यीय संवैधानिक परिषद्मा तीन जनाको सहमतिलाई बहुमत मान्ने अध्यादेशतर्फ संकेत गर्दै भनेका छन्, “संविधानको धारा १२८(४) भन्छ– सर्वोच्चको व्याख्या सबैले पालना गर्नुपर्छ।” उनले १४ जेठ ०८१ मा सर्वोच्चले ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमत हुन कम्तीमा ३१ सदस्य अनिवार्य हुने व्याख्या गरेको कुरा पनि स्मरण गराए।
शर्माले उत्तर कोरियालाई बाहेक विश्वव्यापी लोकतान्त्रिक मान्यता स्पष्ट रूपमा यही नै रहेको बताएका छन्। उनले लामिछानेलाई प्रश्न गर्दै भनेका छन्, “शब्दमा भन्ने– ‘विगतका गल्ती सच्याउने’। अनि कर्ममा उत्तर कोरिया पछि जान्छन्?” उनले लामिछानेलाई ‘मेन्सन’ गर्दै लेखेका छन्, “जिम्मेवार मित्रहरूले गम्भीर मनन गरुन्। ८० वर्षे न्यायीक इतिहासमा पञ्चायतले समेत नगरेको कर्मको दाग कसैले बोकेर नहोस्?”






