Skip to main content

ज्योति श्रेष्ठको ‘छ्याके’ कला प्रदर्शनी ६१औँ भेनिस बिएनालेमा हुने

नेपाली फोटोग्राफर ज्योति श्रेष्ठको ‘छ्याके’ कला परियोजना ६१औँ भेनिस बिएनाले दी भेनेजियामा प्रदर्शन हुन लागेको छ। यो कृति युरोपेली सांस्कृतिक केन्द्रको आधिकारिक सहायक प्रदर्शनी ‘पर्सनल स्ट्रक्चर्स’ अन्तर्गत ९ मेदेखि २२ नोभेम्बर २०२६ सम्म प्रदर्शनमा रहनेछ। श्रेष्ठले भनिन्, ‘भेनिस बिएनालेको हिस्सा बन्न पाउनु मेरा लागि अविश्वसनीय अनुभूति हो’ र उनले विश्व समकालीन कला क्षेत्रमा नेपालको उपस्थिति विकासमा योगदान दिन चाहन्छिन्।

काठमाडौं। नेपाली दृश्य कलाकार तथा फोटोग्राफर ज्योति श्रेष्ठ यस वर्ष आयोजना हुन लागेको ६१औँ अन्तर्राष्ट्रिय कला प्रदर्शनी ‘ला बिएनाले दी भेनेजिया’ मा आफ्नो ‘छ्याके’ कला परियोजना प्रदर्शनका लागि छनोट भएकी छन्। विश्वकै प्रतिष्ठित समकालीन कला मञ्चमध्ये एकमा नेपाली उपस्थिति निरन्तरताका रूपमा यसलाई महत्वपूर्ण उपलब्धि मानिएको छ। उनका कृतिहरू इटालीको भेनिसस्थित ऐतिहासिक स्थल पलाज्जो बेम्बो, पलाज्जो मोरा र मरिनारेसा उद्यानमा प्रदर्शन गरिनेछ।

सन् १८९५ मा स्थापना भएको भेनिस बिएनाले समकालीन कलाको विश्वकै प्रभावशाली अन्तर्राष्ट्रिय मञ्चमध्ये एक मानिन्छ। नेपालले सन् २०२२ मा पहिलोपटक आधिकारिक मण्डप प्रस्तुत गरेको भए पनि बिएनालेको संरचनाभित्र नेपाली कलाकारको सहभागिता अझै सीमित छ। श्रेष्ठको सहभागिताले अन्तर्राष्ट्रिय समकालीन कला विमर्शमा नेपाली सिर्जनशील आवाजको उपस्थिति विस्तार भएको संकेत गरेको छ।

श्रेष्ठले भनिन्, ‘भेनिस बिएनालेको हिस्सा बन्न पाउनु मेरो लागि अविश्वसनीय अनुभव हो। यहाँ आफ्नो काम प्रदर्शन गर्ने सपना सधैं थियो, अहिले त्यो पूरा हुँदैछ भन्ने विश्वास गर्न गाह्रो भइरहेको छ। आफ्नो सिर्जना मात्र होइन, विश्व समकालीन कला क्षेत्रमा नेपालको विकसित उपस्थिति विस्तारमा योगदान दिन पाउनु पनि मेरो लागि महत्वपूर्ण छ।’ नेपालमा जन्मिएकी ज्योति फोटोग्राफीमा पनि सक्रिय छिन्। उनी नेदरल्यान्ड्सको ‘जियुपी फ्रेस आइज ट्यालेन्ट २०२६’ मा छनोट भइसकेकी हुन् भने युरोपेली सांस्कृतिक केन्द्र, अर्बानोटिका र पेरिस कला महाविद्यालयद्वारा प्रदान गरिने ‘ब्लरिङ द लाइन्स २०२५’ सम्मान पनि प्राप्त गरिसकेकी छन्।