
२४ वैशाख, काठमाडौं । एक तिहाइ अमेरिकी वयस्कहरूले राति कम्तीमा सात घण्टा निद्रा लिन नसकेको एक अनुसन्धानले देखाएको छ। विश्वव्यापी रूपमा अनिद्रा र निद्रा सम्बन्धी समस्याहरू बढ्दो अवस्थामा छन्। यस सन्दर्भमा, मानिसहरू राम्रो निद्राका लागि सप्लिमेन्ट र औषधिहरूमा बढी निर्भर हुँदै गएका छन्, तर विशेषज्ञहरूले दैनिक रूपमा निद्रा लाग्ने चक्की वा सप्लिमेन्टमा भर पर्नु अनुकुल नभएको चेतावनी दिएका छन्।
न्युयोर्क टाइम्समा प्रकाशित सामग्रीअनुसार, अमेरिकी स्वास्थ्य एजेन्सी सीडीसीको नयाँ रिपोर्टले प्रत्येक आठमध्ये एउटा अमेरिकी वयस्क सुत्न वा पर्याप्त निद्रा पुरा गर्न सप्लिमेन्ट वा औषधि प्रयोग गर्ने तथ्य प्रस्तुत गरेको छ। त्यस्तै अर्काे रिपोर्टले पनि एक तिहाइ अमेरिकी वयस्कहरू राति कम्तिमा सात घण्टा निद्रामा कमी पाउने देखाएको छ।
ड्युक विश्वविद्यालय मेडिकल सेन्टरका निद्रा विशेषज्ञ डा. सुजय कन्सगरका अनुसार, धेरै मानिसहरूले मेलाटोनिन र म्याग्नेसियमजस्ता सप्लिमेन्टलाई जादुई उपायमानेका छन्, तर उनीहरूले आफ्नो निद्रा बिग्रने वास्तविक कारणहरू पहिचान गर्न आवश्यक छ। उनका अनुसार, “म्याग्नेसियमले निद्रा सुधार गर्ने प्रमाण सीमित छन्।” तथापि, मांसपेशी तन्किनु वा खुट्टामा ऐठन हुने समस्याका कारण यसको प्रयोग गर्नेहरूलाई केही राहत मिल्न सक्छ।
विशेषज्ञहरूले यसरी सप्लिमेन्टहरूमा अत्यधिक निर्भरता हुनु वास्तविक रोग र समस्या लुकाउन सक्छ भन्ने चेतावनी दिएका छन्। तनाव, राति ढिलोसम्म स्क्रिन हेर्नु, अनियमित दिनचर्या र कामको दबाब पनि निद्रा बिग्रने प्रमुख कारण हुन्। डाक्टरहरूले सुझाएका छन्—अच्छा निद्राका लागि औषधिका सट्टा आधारभूत जीवनशैलीका बानीहरूमा ध्यान दिनु आवश्यक छ। जस्तै: हरेक दिन समान समयमा सुत्ने र उठ्ने, बिहानमा सूर्यको प्रकाशमा बस्ने, नियमित रूपमा व्यायाम गर्ने, सुत्नुअघि स्क्रिनको प्रयोग सीमित गर्ने र सुत्ने कोठालाई अँध्यारो र चिसो बनाउने।






