
पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानन्यायाधीश सिफारिसमा चौथो वरीयतामा रहेका डा. मनोज शर्माको नियुक्तिलाई गलत भएको बताएकी छन्। कार्कीले वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल नै सक्षम रहेको र महिला प्रधानन्यायाधीश रोक्नु सरकारले गरेको गल्ती भएको उल्लेख गरिन्। उनले न्यायाधीशको नियुक्ति योग्यता अनुसार हुनुपर्ने र सपना प्रधान मल्लले महिलासम्बन्धी कानुनमा महत्वपूर्ण भूमिका खेलेको बताइन्। २४ वैशाख, काठमाडौं।
संवैधानिक परिषद्ले बिहीबार गरेको प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गम्भीर असहमति प्रकट गरेकी छन्। अनलाइनखबरसँगको कुराकानीमा उनले विधि र परम्परा तोडेर चौथो वरीयतामा रहेका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश सिफारिस गरिएको भन्दै आफ्नो रोष व्यक्त गरिन्। संवैधानिक तथा अन्य सबै प्रधानन्यायाधीशमा कामू प्रधानन्यायाधीश समेत रहेका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल नै क्षमतावान रहेको उनको तर्क छ।
‘इतिहासमा यति योग्यता सम्पन्न महिला, यति सक्षम महिला, कुन कुरामा कमी थियो त्यो महिलामा?’ कार्कीले प्रश्न गर्दै भनिन्, ‘यसको परिणाम त यही सरकारले पछि भोग्नुपर्छ।’ योग्यताले सम्पन्न एक सक्षम महिलालाई रोक्नु सरकारको गल्ती भएको भन्दै यसको परिणाम वर्तमान सरकारले भोग्नुपर्ने उनको भनाइ थियो।
‘राज्यका तीनवटा संस्था छन्। सबै संस्थाको आफ्नो प्रतिष्ठा र गम्भीरता हुन्छ। प्रहरीमा कसरी नियुक्ति हुन्छ? अघि अघि छानिएर मात्रै आउँछ नि। एउटा सिपाहीले पनि प्रमोसन पाउँदै माथि आइपुगेको हुन्छ,’ उनले भनिन्, ‘न्यायाधीशको पनि उस्तै प्रमोसन हुँदै आएको हुन्छ। सर्वोच्चमा नियुक्ति भएकामा पनि योग्यता अनुसार हुनुपर्छ। केही योग्यता नभएको भए मध्येमा ड्रप गर्न सकिन्छ नि।’ कार्कीले आफू प्रधानन्यायाधीश हुँदा विश्वको तेस्रो महिला प्रधानन्यायाधीश भनेर रिपोर्ट आएका प्रसंग उल्लिखित गर्दै अहिलेको सरकारले सोचविन्त नगरी निर्णय लिएको बताइन्।
‘अहिले जुन सपनाजी हुनुहुन्छ, उहाँ कुनै अयोग्य व्यक्ति होइन। उहाँले लामो समयसम्म वकालत गर्नुभएको छ। उहाँले आइएनजीओ र एनजीओबीच पनि वकालत गर्नुभएको छ। कानुन बनाउन सहयोग पनि गर्नुभएको हो,’ उनले भनिन्। उनले देशमा महिलासम्बन्धी कानुन ल्याउन सपना प्रधान मल्ल जस्ता पात्रहरूले महत्वपूर्ण भूमिका खेलेको बताइन्।






