Skip to main content

मानिससँगको सहयात्राले कुकुरको मस्तिष्कमा ल्यायो महत्वपूर्ण परिवर्तन, अध्ययनले के भन्यो?

पाल्तु बन्ने क्रममा कुकुरको मस्तिष्कको आकार करिब ४६ प्रतिशतसम्म घटेको छ, तर यसलाई बुद्धिमत्तामा कमी आएको भन्न नमिल्ने वैज्ञानिकहरूले बताएका छन्। मान्छे र कुकुरबीचको सम्बन्ध हजारौं वर्ष पुरानो मानिन्छ। जंगली ब्वाँसोको सन्तान मानिने कुकुर आज मान्छेको सबैभन्दा नजिकको साथी हो। घरको सुरक्षा, शिकार, पशुपालनदेखि भावनात्मक साथीसम्मका भूमिकामा कुकुरले आफूलाई स्थापित गर्दै आएको छ। तर मानवसँगको यो निकटता कुकुरको शारीरिक र व्यवहारिक मात्र नभई मस्तिष्कमा पनि ठूलो परिवर्तन ल्याएको छ, नयाँ अध्ययनले देखाएको छ। अहिले रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित एक अध्ययनअनुसार पालतु बनाइएका कुकुरको मस्तिष्क आकार लगभग ४६ प्रतिशतसम्म घटेको पाइएको छ। तर अनुसन्धानकर्ताहरूले यसलाई बुद्धिमत्ता घट्नुसँग सिधा जोड्नु नमिल्ने बताएका छन्।

‘नियोलिथिक युग’पछि देखिएको यो ठूला परिवर्तन विज्ञानले लामो समयदेखि उठाएको प्रश्न हो कि मानवसँग बस्न थालेपछि कुकुरको सोच्ने क्षमता, व्यवहार र मस्तिष्कमा कस्तो परिवर्तन आयो? यो प्रश्नको उत्तर खोज्न फ्रान्सका वैज्ञानिकहरूले व्यापक अनुसन्धान गरेका छन्। उनीहरूले आधुनिक कुकुर, डिङ्गो र ब्वाँसासहित २०७ वटा खप्परको अध्ययन गरेका थिए, जसमा २२ वटा प्रागैतिहासिक कालका नमुना पनि थिए। अनुसन्धानकर्ताहरूले सीटी स्क्यान प्रयोग गरेर खप्परभित्रको संरचनाको भर्चुअल प्रतिरूप तयार पारे जसले मस्तिष्क आकारको विश्वसनीय डाटा प्राप्त गर्न सहयोग पुर्‍यायो। अध्ययन अनुसार करिब १५ हजार वर्षअघि मानवले कुकुरलाई पाल्तु बनाउनु सुरु गरेका थिए, तर सुरुवाती चरणमा कुकुरको मस्तिष्क ब्वाँसो जस्तै ठूलो थियो। वास्तविक परिवर्तन नियोलिथिक युगमा सुरु भएको देखिएको छ।

नियोलिथिक युग त्यो कालखण्ड हो जब मानिसहरूले घुमन्ते जीवन छोडेर स्थायी खेतीपाती गर्न थाले। गाउँ र बस्तीमा बस्न थाल्दा कुकुरको भूमिका पनि बदलिन थाल्यो। पहिले जंगली वातावरणमा जटिल निर्णय लिनुपर्दा, अब कुकुरहरू मानिसको वरिपरि बस्ने, बस्तीको सुरक्षा गर्ने र बाँकी खानामाथि निर्भर रहने अवस्थामा पुगे। अध्ययनकर्ताहरूका अनुसार यही जीवनशैलीको परिवर्तनले कुकुरको मस्तिष्क संरचनामा प्रभाव पारेको हुन सक्छ। ‘पाल्तु बनाएकोले मूर्ख बनाउँदैन, बरु मानिसलाई बुझ्ने क्षमतामा निपुण बनाउँछ,’ अध्ययनका प्रमुख लेखक थोमस चुची भन्छन्। ‘आजका कुकुरहरू आफ्ना बुद्धिमत्ताको पूर्ण प्रयोग सधैं गर्न नपाए पनि, अत्यन्त चलाख छन्। पाल्तु बनाएको कारण उनीहरूलाई मूर्ख बनाइएको होइन, बरु मानिसलाई बुझ्न र संवाद गर्न अझ कुशल बनाइएको हो।’