
समाचार सारांश संपादकीय समीक्षा गरिएको। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारलाई असफल र अपारदर्शी भनी सुकुमवासी बस्तीमा डोजर चलाउनु आतंकपूर्ण कदम भएको बताएका छन्। उनले सरकारले संसद छल्नु नीतिगत भ्रष्टाचार भएको र बजेट एकलौटी बनाउनु गल्ती भएको उल्लेख गरे। श्रम संस्कृति पार्टीले विपक्षी दलसँग एकता गरी सरकारको कुशासनविरुद्ध सडक र सदनबाट आवाज उठाउने योजना बनाएको छ। बालेन शाह नेतृत्वको रास्वपा सरकारलाई निरन्तर प्रश्न उठाउँदै र खबरदारी गर्दै आएका छन्, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ।
सरकारको कार्यशैलीप्रति सघन आलोचना र प्रतिवाद गर्ने विपक्षी दलको रूपमा उनले श्रम संस्कृतिलाई अग्रपंक्तिमा उभ्याएका छन्। सुकुमवासी बस्तीमा डोजर चलाएपछि उनी सरकारले बरतिरहेको रवैयाप्रति थप रुष्ट भएका छन्। व्यवस्थित योजना बिना सुकुमवासीलार्इ बेघर बनाएकोमा सरकारप्रति प्रश्न उब्जिएका छन्। करिब डेढ महिना पुग्न लागेको बालेन सरकारले असफलताको निश्कर्ष निकालेका छन् हर्क।
सरकारको निर्णयमा सुकुमवासी बस्तीमा डोजर चलाउनु आतंक, संसद छलेर ल्याइएको अध्यादेश, विपक्षी दलहरूको भूमिका, श्रम संस्कृतिसँग उज्यालो नेपाल पार्टीको एकता लगायत विषयमा पत्रकार लिलु डुम्रेले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग कुराकानी गरेका छन्। प्रस्तुत छ संवादको सम्पादित अंश: “तपाईंले बालेन सरकार असफल भएको दाबी गर्नुभएको छ। सरकारको सफलता असफलता मूल्यांकन गर्ने समय आएको हो कि?” मूल्यांकन त सधैं चलिरहन्छ। जुन संकेतहरू देखिएका छन्, त्यसले सरकार असफल भइरहेको देखाउँछ।
सरकार असफल भएको के आधारहरू हुन्? उहाँले राज्य सन्तुलित रूपमा चलाउन सक्नुभएन। उनी सही चालक हुन सकेनन्। गाडी स्टार्ट गर्नुभयो, स्पीड हाँक्नुभयो र दुर्घटनातर्फ लैजानुभयो। जहाँ-जहाँ आन्दोलन भैरहेको छ। मानिसहरू कराइरहेका छन्। कोही आत्महत्या गर्न बाध्य भएका छन्। घरबारविहीन भएका छन्। त्यसैले राज्य राम्रोसँग चलेको छैन।






