
२५ वैशाख, जनकपुरधाम। सर्लाहीको बागमती नगरपालिकाको कर्महियामा सुकुमवासीहरूले प्रदर्शन गरेका छन्। भूमि अधिकार मञ्च तथा अखिल नेपाल सुकुमवासी महासंघको आयोजनामा त्यहाँ प्रदर्शन गरिएको थियो। प्रदर्शनमा “डोजर आतंक बन्द गर”, “आवासको हक प्रदान गर”, “हामीलाई यस्तो सरकार चाहिँदैन” लगायतका नाराहरू लगाइएका थिए। अखिल नेपाल सुकुमवासी महासंघका अनुसार सर्लाहीको बागमती नगरपालिकामा मात्रै करिब ९ हजार भूमिहीन सुकुमवासी बसोबास गरिरहेका छन्। प्रदर्शनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए। उनले प्रदर्शनपछिको कोणसभामा सम्बोधन समेत गरे।
सम्बोधनका क्रममा नेता श्रेष्ठले सरकारले सुकुमवासीलाइ मानिसझैँ व्यवहार नगरेको टिप्पणी गरे। ‘सुकुमवासी मान्छे होइनन्, नागरिक होइनन् भन्ने सरकारलाई सुकुमवासीले पनि भन्नुपर्नेछ– तिमी पनि सरकार होइनौं,’ उनले भने। नेपाली नागरिकलाई संविधानले आवासको हक दिएको भन्दै उनले सुकुमवासीलाइ बसोबास गरेको ठाउँबाट हटाउनु गैरकानुनी भएको उल्लेख गरे। नेताले सरकारविरुद्ध प्रतिरोध अभियान चलाउन सबै सुकुमवासीलाइ अनुरोध गरे। सत्य र न्याय अहिले कमजोर देखिए पनि अन्ततः सत्यको विजयी हुने आशा व्यक्त गर्दै उनले सबैमा हिम्मत बढाए। ‘अधिकांश निरंकुश सत्ता निर्वाचनबाट नै उत्पन्न हुन्छन्, विश्वव्यापी इतिहासले त्यो देखाउँछ,’ उनले भने, ‘जनविश्वासलाई अवमूल्यन गर्ने निरंकुश सत्ता आधुनिक विश्वले स्वीकार गर्दैन।’ राज्यलाई अत्यावश्यक अवस्थाबाहेक सुकुमवासीलाइ जहाँ बसेका छन् त्यही स्थानको लालपूर्जा दिनुपर्ने उनको भनाइ पनि व्यक्त गरे। ‘राज्यको भूमि सुकुमवासीको पनि भूमि हो, उनीहरूले खनिकोसाली र परिश्रम गरेको ठाउँ नै उनीहरूलाई दिनुपर्छ,’ श्रेष्ठले थपे।






