Skip to main content

नेता पोखरेलले ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई राज्य सञ्चालनमा उपयोग गर्न जोड दिए

काठमाडौंमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा ज्येष्ठ नागरिकको अवस्था र ज्ञान हस्तान्तरण विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको समुद्घाटन गर्नुभएको छ। नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा मात्र नभई ज्ञान र अनुभवको स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताउनुभयो।

ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित उक्त सम्मेलनको समुद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्। सम्मेलनलाई सम्बोधन गर्दै नेता पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सिमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताए। उनले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।

नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको शुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै नेता पोखरेलले उनको विचार र निष्ठालाई चिरस्थायी बनाउन प्रतिष्ठानले विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको जानकारी दिए। २०५६ सालमा स्थापित प्रतिष्ठानले ज्येष्ठ नागरिकका लागि देश दर्शन, सम्मान कार्यक्रम, स्वास्थ्य शिविर तथा साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ।

साथै, युवाहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न मोरङमा मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना गरी स्वरोजगारीका क्षेत्रमा समेत काम भइरहेको पोखरेलले बताए। ‘स्वर्गीय अधिकारीले बसाल्नुभएको ज्येष्ठ नागरिक सम्मानको जगलाई आज सबै तहका सरकार र समाजले अपनत्व ग्रहण गर्नु सुखद् पक्ष हो। अब यसलाई थप परिष्कृत गर्दै उहाँहरूको अनुभवलाई विकासको अभियानमा जोड्नुपर्छ,’ उनले भने।