सुकुमवासीमाथि राज्यद्वारा दमन गरेको आरोपमा श्रम संस्कृति पार्टीको विरोध प्रदर्शन

२६ वैशाख, काठमाडौं । सुकुमवासी र अव्यवस्थित बसोबासीहरूलाई राज्यले दमन गरेको भन्दै श्रम संस्कृति पार्टीले विरोध प्रदर्शन गरेको छ। ‘यो देश गरीबको पनि हो’ भन्ने नारा सहित शनिबार काठमाडौंको माइतिघरमा पार्टीले विरोध कार्यक्रम गरेको थियो। पार्टीको भनाइ अनुसार, सुकुमवासी र अव्यवस्थित बसोबासीमाथि राज्यले निर्मम तरिकाले दमन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले ‘भूमिहीनलाई पहिले व्यवस्थापन गर’, ‘मानवअधिकारका लागि एक हौं’, ‘कमजोर वर्गलाई संरक्षण गर्नु राज्यको दायित्व हो’, ‘भूमिहीनलाई भूमि दे’ लगायतका प्लेकार्डहरू प्रदर्शन गरेका थिए। कुनै विकल्प वा व्यवस्थापन नगरी सुकुमवासी र अव्यवस्थित बसोबासमाथि राज्यले दमन गरी निरंकुश शैली अपनाएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका थिए।






