Skip to main content

धनकुटा बहुमुखी क्याम्पसको ई-लाइब्रेरी र अपाङ्गता सहायता केन्द्र निष्क्रिय अवस्थामा

२७ वैशाख, धनकुटा । पूर्वाञ्चल विकास क्षेत्र, अहिलेको कोशी प्रदेशको उच्च शिक्षा केन्द्रीत धनकुटा बहुमुखी क्याम्पस पहिले विद्यार्थीहरूले भरिपूर्ण हुने ठाउँ थियो, तर हाल विद्यार्थीहरूको संख्या घटेको छ। गाउँगाउँमा उच्च शिक्षा पुगोस् भनेर क्याम्पसहरूको विस्तार भएपछि धनकुटा बहुमुखी क्याम्पसले विद्यार्थीलाई आकर्षित गर्न सकिरहेको छैन र भर्ना संख्या घटेको छ। यसै बिचमा क्याम्पसले स्थापना गरेका आधुनिक र समावेशी शिक्षा संरचनाहरू प्रयोगविहीन बन्न थालेका छन्। लाखौँ रुपैयाँ लगानी गरेर स्थापना गरिएका विद्युतीय पुस्तकालय (ई–लाइब्रेरी) र अपाङ्गता विद्यार्थी सहायता केन्द्र प्रभावकारी रूपमा सञ्चालन हुन नसकेकाले आफ्नो उद्देश्य पूरा हुन सकेको छैन।

लगभग एक दशकअघि स्थापना गरिएको ई-लाइब्रेरीले क्याम्पसमा प्रविधिमैत्री अध्ययन–अध्यापनको लक्ष्य लिएको थियो। यस पुस्तकालयमा २० वटा कम्प्युटर, इन्टरनेट सेवा र आवश्यक विद्युतीय उपकरणहरू जडान गरिए पनि नियमित सञ्चालन नहुनाले ती स्रोतहरू बेकार भएका छन्। सहायक क्याम्पस प्रमुख डा. श्यामप्रसाद वाग्लेले प्राविधिक जनशक्तिको अभावले क्याम्पसको ई-लाइब्रेरी प्रयोगविहीन भएको बताउँछन्। उनले भने, ‘अधिकृतस्तरको लाइब्रेरियन नहुँदा पुरानो जनशक्तिबाट मात्र सामान्य काम चलाइएको छ जसले प्रभावकारी उपयोग सम्भव छैन।’

त्यस्तै, फरक क्षमताका विद्यार्थीलाई बराबरी शैक्षिक अवसर उपलब्ध गराउन चार वर्षअघि स्थापना गरिएको अपाङ्गता विद्यार्थी सहायता केन्द्र पनि सञ्चालनविहीन भएको छ। दाताको सहयोगमा स्थापना गरिएका केन्द्रमा कम्प्युटर, डिजिटल डिस्प्ले, सहायक उपकरण र अपाङ्गमैत्री पूर्वाधार तयार भए पनि प्रयोगमा आउन सकेको छैन। व्हिलचेयर पुग्ने पूर्वाधार नहुँदा अपाङ्गता भएका विद्यार्थीहरूको सहज पहुँचसमेत छैन। उपकरण उपलब्ध भए पनि बजेट अभावका कारण केन्द्र सञ्चालन गर्न नसकेको क्याम्पस प्रमुख होमबहादुर बस्नेतले स्वीकार गरे।

उनका अनुसार केही उपकरणहरू अन्य विभागहरूमा सारिएका छन् भने केही प्राध्यापकहरूले व्यक्तिगत रूपमा प्रयोग गरिरहेका छन्। विद्यार्थीहरूले संरचनागत पूर्वाधार पर्याप्त नभएको बताएका छन्। उनले क्याम्पस प्रशासनले प्रविधि उपयोग र पहुँच विस्तारका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए। स्वतन्त्र विद्यार्थी यूनियनका सभापति युवा तिम्सिनाले प्राविधिक संस्कार विकासको आवश्यकता पनि औँल्याए। ई-लाइब्रेरी र अपाङ्गता सहायता केन्द्र निष्क्रिय रहेको विषयमा व्यवस्थापन समितिका सदस्यहरूलाई जानकारी नभएको प्रतिक्रिया आएको छ। धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलनकुमार खड्गीले आफूलाई बैठकमा नबोलाइएपछि धेरै कुरा थाहा नभएको बताएका छन्। खड्गीले क्याम्पस व्यवस्थापन पक्ष कमजोर रहेको र कुनै स्पष्ट योजना नरहेको बताए। क्याम्पस व्यवस्थापन समितिका सदस्य तथा कोशी प्रदेशसभा सदस्य निरन राईले शैक्षिक र व्यवस्थापकीय सुधारका लागि अनुगमन र निरीक्षणका तयारी गरिरहेको जानकारी दिएका छन्। लगानी र अपेक्षाअनुसार नतिजा नदेखिँदा धनकुटा बहुमुखी क्याम्पसमा आधुनिक अध्ययन प्रणाली र समावेशी शिक्षा प्रभावित भएको छ। जडान गरिएका विद्युतीय उपकरणहरू प्रयोगविहीन बनेका छन्। संरचना र उपकरणको संरक्षण मात्र नभई प्रभावकारी उपयोगमा सरोकारवालाहरू गम्भीर हुनुपर्ने स्थानीय तथा विद्यार्थीहरूले बताउँछन्।