Skip to main content

वर्षाको आवाजले माटोमुनिका बीउहरूलाई अंकुरणका लागि संकेत दिन्छ

सांकेतिक तस्बिर। एमआइटीका वैज्ञानिकहरूले वर्षाको आवाजले माटोमुनि रहेका बीउहरूलाई अंकुरणका लागि संकेत दिन्छ भन्ने नयाँ खोज गरेका छन्। धानका बीउहरूले वर्षाको आवाज सुनेपछि ३० देखि ४० प्रतिशत छिटो अंकुरित हुने अध्ययनले देखाएको छ। बीउभित्रका स्टाटोलिथ नामका कणहरूले वर्षाको आवाजबाट उत्पन्न कम्पन महसुस गरी अंकुरणको सही समय निर्धारण गर्छन्।

के माटोमुनि गाडिएका बीउहरूले आकाशबाट भएको वर्षाको आवाज सुन्न सक्छन्? यो प्रश्न कुनै काल्पनिक कथाको हरफजस्तो लाग्न सक्छ। तर हालैको नयाँ वैज्ञानिक अनुसन्धानले यो तथ्यको पुष्टि गरेको छ। अमेरिकाको प्रतिष्ठित अनुसन्धान संस्थान एमआइटीका वैज्ञानिकहरूले यो रोचक खोज गरेका हुन्। वैज्ञानिकहरूका अनुसार जब वर्षाको पहिलो थोपा सुख्खा माटोमा खस्छ, त्यो आवाज माटोमुनि रहेका बीउहरूले सुन्छन् र सुषुप्त अवस्थामा रहेका बीउहरू ब्युँझिन थाल्छन्।

वर्षाको त्यही आवाज उनीहरूका लागि जीवन सुरु गर्ने संकेत बन्ने गर्छ। अध्ययनअनुसार विशेषगरी धानका बीउहरू वर्षाको ध्वनि सुनेपछि ३० देखि ४० प्रतिशतसम्म छिटो अंकुरण हुने गरेको पाइएको छ। अर्थात् वर्षाको तप-तप आवाजले उनीहरूलाई सामान्य समयभन्दा धेरै छिटो उम्रिन मद्दत गर्छ। यो खोजले वनस्पतिहरू निस्क्रिय तथा चेतनाविहीन ठान्ने धारणालाई गलत सावित गरिदिएको छ।

वैज्ञानिकहरूका अनुसार बीउहरूले केवल चिस्यान र पानीको मात्र प्रतीक्षा गर्दैनन्, उनीहरूले आफ्नो वरिपरिको वातावरणलाई पनि महसुस गर्छन् र त्यसकै आधारमा अब अंकुरित हुने सही समय आएको हो वा होइन भन्ने निर्णय लिन्छन्। बीउहरूले वर्षाको आवाज कसरी सुन्छन्? वर्षाका थोपा जब माटो वा पानीमा खस्छन्, तब ध्वनि तरंगहरू उत्पन्न हुन्छन्। यी तरंगहरूले माटो र पानीभित्र कम्पन पैदा गर्छन्। बीउहरूले यी कम्पनहरूलाई महसुस गर्न सक्छन्।

वैज्ञानिकहरूका अनुसार बीउभित्र स्टाटोलिथ नामका धेरै साना कणहरू हुन्छन् जुन स्टार्चबाट बनेका हुन्छन्। जब वर्षाको आवाजबाट उत्पन्न कम्पनहरूले यी स्टाटोलिथहरूलाई हल्लाउँछन्, तब बीउलाई संकेत प्राप्त हुन्छ कि अब पर्याप्त पानी आउने सम्भावना छ र वातावरण अंकुरणका लागि उपयुक्त भएको छ। यही कारणले बीउहरू छिटो अंकुरित हुन थाल्छन्। शोधकर्ताहरूले यो कुरा प्रमाणित गर्न करिब ८ हजार प्रकारका धानका बीउहरूमा प्रयोग गरेका थिए।

केही बीउहरूलाई सामान्य चिसो/आद्र वातावरण दिइयो भने केहीमा वर्षाजस्तो आवाज र थोपा पर्ने प्रभाव सिर्जना गरियो। त्यसको नतिजा रोचक थियो। जुन बीउलाई वर्षाको आवाज सुनाइयो, ती बीउहरू ३०/४० प्रतिशत छिटो अंकुरित भए। वैज्ञानिकहरूका अनुसार पानीमा ध्वनि तरंगहरू राम्रोसँग फैलिने हुनाले पानी वा चिसो माटोभित्र रहेका बीउहरूले यो आवाज अझ राम्ररी महसुस गर्न सक्छन्।

यो अध्ययनले बिरुवाहरू हाम्रो सोचभन्दा धेरै बढी बुद्धिमान र संवेदनशील हुनुका साथै केवल प्रकाश, पानी र माटोमा मात्र निर्भर नभई आवाज र कम्पनलाई पनि महसुस गर्न सक्ने देखाएको छ। स्मरण रहोस्, यसअघिका अध्ययनहरूले पनि वनस्पतीले सुन्नसक्ने तथ्य पत्ता लगाएका थिए। जस अनुसार केही विरुवाहरूले कीराले पात चपाएको आवाज सुनेर आफ्ना पातमा तितो रसायन उत्पादन गर्छन्। केही बिरुवाहरू छोएपछि बन्द हुन्छन् भने केही बिरुवाले गन्धप्रति प्रतिक्रिया जनाउँछन्। अब यसमा वर्षाको पानीको आवाज पनि थपिएको छ। त्यसैले वर्षाको तपतप आवाज केवल हाम्रो मनोरञ्जनका लागि मात्र होइन, माटोभित्र लुकेका बीउहरूका लागि जीवनको सन्देश पनि हो।