
पाकिस्तानको खैबर पख्तुनख्वामा भएको आतंकवादी आक्रमणमा १५ जना प्रहरी अधिकारीको मृत्यु भएको छ। बन्नु मेडिकल र टिचिङ इन्स्टिच्युटका प्रवक्ता नोमान खानले मृत्यु हुने सबैको त्यहाँको प्रहरी भएको पुष्टि गरेका छन्। यस घटनामा तीन जना घाइते भएका छन् र उनीहरूको स्वास्थ्य अवस्था खतरा भन्दा बाहिर रहेको जानकारी प्राप्त भएको छ।
अघिल्लो रिपोर्टअनुसार, बन्नु रेन्जका प्रहरी अधिकृत सज्जाद खानको कार्यालयले जारी गरेको विज्ञप्तिमा फतेह खेल चौकी भवनका भग्नावशेषबाट १२ जना प्रहरीको शव निकालिएको र तीन जना कर्मचारीलाई जीवितै उद्धार गरिएको उल्लेख छ। रोयटर्सको रिपोर्टअनुसार, विस्फोटक पदार्थले भरिएको एउटा वाहन बन्नु शहरको बाहिरी क्षेत्रमा रहेको प्रहरी चौकीमा ठोक्किएको थियो। एक सुरक्षा अधिकारीले बताएका छन्, विस्फोटपछि आतंकवादीहरूले चौकीमा भित्र पस्दै प्रहरीमाथि गोली चलाएका थिए।






