
चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले भरतपुर महानगरका १४४ वटा स्कुल बसमा यान्त्रिक परीक्षण गरी निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिएको छ। परीक्षणमा फोहर फाल्ने डस्टबिन, अग्नि नियन्त्रण यन्त्र र प्राथमिक उपचार सामग्री नरहेको पाइएकोले ती बसहरूलाई १५ दिनभित्र निर्देशिका कार्यान्वयन गर्न भनिएको छ। विद्यालयका २५० चालकको स्वास्थ्य परीक्षण र १७३ बसको वायु प्रदूषण मापन गर्दा ५४ वटा बसले धुवाँ उत्सर्जन गरेको पाइएको छ।
भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसहरुलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रका स्कुल बसहरुको यान्त्रिक परीक्षण र चालकहरुको स्वास्थ्य परीक्षण गरेको थियो। तीन दिनसम्म गरिएको परीक्षणका क्रममा निर्देशिका कार्यान्वयन नभएको देखिएपछि ती बसहरुलाई तत्काल स्कुल बस निर्देशिका, २०७४ अनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको हो।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार बजार क्षेत्रमा सञ्चालित विद्यालयका १४४ वटा बसको यान्त्रिक परीक्षण गरिएको थियो। सो क्रममा नियमित मर्मत नभएको, चक्काको टायर नियमानुसार परिवर्तन नगरिएको लगायत विभिन्न समस्या पाइएको उनले बताए। निर्देशिका अनुसार बसमा फोहर फाल्ने डस्टबिन, अग्नि नियन्त्रण यन्त्र र प्राथमिक उपचार सामग्री नहुनु समस्या रहेको कारण ती बसहरुलाई तत्काल निर्देशिका अनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको प्रहरी निरीक्षक थापाले बताएका छन्।






