
रास्वपाले शनिबार र आइतबार पार्टी, सरकार र सांसदहरूको भूमिकाबारे दोस्रो चरणको प्रशिक्षण जवालाखेलस्थित स्टाफ कलेजमा प्रदान गरेको छ। पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई ‘सरकारी गाडी चढेर झण्डा हल्लाउनु सफलता होइन’ भन्दै ‘यू-टर्न’ लिन आग्रह गरेका छन्। उनले पुराना दलका नेताहरूको संघर्ष र त्याग सम्झाउँदै सांसदहरूलाई विधेयक र कानुन निर्माणमा विशेष ध्यान दिन सुझाव दिए।
२७ वैशाख, काठमाडौं। सत्तारुढ दल रास्वपाले शनिबार र आइतबार पार्टी, सरकार र सांसदहरूको भूमिकाबारे प्रशिक्षण दिएको छ। निर्वाचनपछिको पहिलो प्रशिक्षण पाँचतारे रोयल ट्युलिप होटलमा सम्पन्न भएको थियो भने दोस्रो प्रशिक्षण जवालाखेलस्थित स्टाफ कलेजमा गरिएको थियो। पहिलो प्रशिक्षणमा सहभागी नहुने बालेन्द्र शाह यस पटक पनि दोस्रो चरणमा भाग लिएका छैनन्। संसदीय दलका नेता हुँदाहुँदै उनी सांसदहरूको प्रशिक्षणमा अनुपस्थित छन्।
पहिलो प्रशिक्षण जस्तै यो पटक पनि पार्टी सभापति रवि लामिछानेले सांसदहरूलाई मुख्य लक्ष्य के हो भन्ने विषयमा बुझाउन प्रयास गरे। संसदका विधि प्रक्रिया, संसदीय राजनीति तथा रास्वपाको उदयदेखि वर्तमान स्थितिसम्मको अवस्थाबारेर उनले व्याख्या गरे। यसले रास्वपा दलभित्र बढ्दै गएको मनोविज्ञानलाई संकेत गरेको छ। उनले जुन दिशातर्फ अगाडि बढिरहेको छ, त्यो बाटोमा नजान प्रशिक्षणमार्फत प्रयास गरिरहेका छन्।
चुनावपछि सरकार बन्ने क्रममा धेरै नेताहरू मन्त्री बन्ने प्रयासमा थिए। विशेष गरेर पूर्वसांसदहरू आफूलाई अनुभवका आधारमा दाबीदार मान्थे। तर पूर्वसांसदहरू प्राथमिकतामा नपरेका कारण रास्वपा सांसदहरूमा फरक मनोविज्ञान विकास भइरहेको छ। यस विषयमा रविले आइतबार स्पष्ट जवाफ दिएका छन्। उनले भने, ‘सरकारी गाडी चढेर झण्डा हल्लाउँदै हिँड्नु र त्यसलाई सफलताको मापदण्ड मान्नु ठूलो भूल हो। यदि तपाईंले यिनलाई मात्र सफलताको संकेत मान्नुभयो भने हामी गलत दिशामा छौं। गलत बाटोले गन्तव्यसम्म कहिल्यै पुर्याउँदैन। त्यसैले कृपया ‘यू-टर्न’ लिनुहोस्।’
सांसदहरूका रूपमा देखिएका व्यक्तिहरूले पार्टी वा संसदभित्रका अन्य पदमा पनि आकांक्षा राखेका छन्। त्यसैले रास्वपामा गुनासो गर्ने समूह पनि बढ्दै गएको उनले बताए। पदका लागि धेरैले माग गर्दै आएको खुलाएका छन्। ‘कहिलेकाहीं साथीहरूले भन्नुहुन्छ—’सभापतिज्यू, म त सुरु देखि नै लागिरहेको मान्छे, मेरो योगदान यति छ’ भन्दै योगदानको मूल्य माग्न ढोका ठोक्नुहुन्छ। यस्तो सुन्दा मलाई दुःख लाग्छ। साथीहरू, यो पार्टीमा योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन भने तपाईंहरूको कसरी भयो? मैले पनि योगदान गरेको छु, तर अहिले मूल्य माग्ने होइन, अझ धेरै योगदान दिने बेला हो,’ भनी रविले सम्बोधन गरे।






