Skip to main content

साता दुई दिन बिदा दिने निर्णयले विद्यार्थीमा चिन्ता थपियो

२८ वैशाख, डोटी । बझाङको थलारा गाउँपालिका–१ का विवेक निरौला लक्ष्मीपुर माध्यमिक विद्यालय, मोतिपुरमा कक्षा ९ मा अध्ययनरत छन् । उनी अहिले पढाइलाई लिएर चिन्तित देखिन्छन् । सरकारले साता दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय गरेपछि उनी चिन्ता व्यक्त गर्छन् । ‘सरकारको यो निर्णय राम्रो लागेको छैन । हामीकहाँ पहिले नै बिदा भइरहन्छ, जसले कोर्ष कहिल्यै पूरा हुँदैन,’ निरौला भन्छन्, ‘अब साता दुई दिन बिदा दिने निर्णय भएपछि यो वर्ष के होला ?’ उनी प्रधानमन्त्री बालेन शाहलाई राम्रो मान्छे भनी सुनेका छन्, तर यिनै बालेनले गरेको दुई दिन विद्यालय बन्द गर्ने निर्णय उनलाई मन परेको छैन ।

अछामको साँफेबगर नगरपालिका–१० मा रहेको बेतालमाण्डौ माध्यमिक विद्यालयको कक्षा ८ की छात्रा कृतिका भट्ट आइतबार विद्यालय बन्द हुन लागेकोमा असन्तुष्ट छिन् । ‘हाम्रो पढाइ डिस्टर्ब हुने भयो । शिक्षकले पूर्ण पाठ्यक्रम पढाउन नसकिने बताउनुभयो । अब घरमै आफैं पढ्नुपर्ने होला,’ उनले भनिन् । उनका अनुसार शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने हुँदा पठनपाठन हुँदैन । ‘त्यसैले अब हप्तामा ४ दिन मात्रै पढाइ हुनेछ,’ उनले सुनाइन् ।

डोटीको पद्म पब्लिक माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा दिया कटुवालले आइतबार बिदा हुँदा नकारात्मक असर परेको बताउँछिन् । ‘धेरै बिदा हुँदा पठनपाठन कम हुन्छ । घरमा पनि कम पढिन्छ । कक्षा अनियमित हुँदा विद्यार्थी लापरवाह हुन्छन्,’ उनले भनिन्, ‘बिदाको दिन घरका काम पनि गर्नुपर्ने भएकाले पढाइ कम हुन्छ । कम सिकाइ हुने डर छ ।’ केही विद्यार्थी घरमा बस्दा मोबाइल, टेलिभिजन वा खेलकुदमा धेरै समय बिताउने भएकाले अध्ययनमा ध्यान कम जाने चिन्ता पनि छ । ‘परीक्षा नजिकिँदा पाठ दोहोर्याउन र तयारी गर्न समस्या हुन सक्छ,’ कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ को समैजी माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थी प्रल्हाद राजी भन्छन्, ‘पाठ्यपुस्तक त्यसअनुसार हुनु आवश्यक छ, नत्र कोर्ष पूरा हुने छैन ।’ यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी गर्नुपर्ने भएकाले उनको पढाइमा असर पर्नेमा चिन्ता छ ।

चुरे गाउँपालिका–६ कैलालीको भगवती माध्यमिक विद्यालयकी छात्रा प्रतिक्षा अर्खाली मगर भन्छिन्, साता दुई दिन बिदा हुँदा सबैभन्दा बढी नोक्सानी विद्यार्थीले भोग्नुपर्ने हुन्छ । ‘शिक्षकलाई त फाइदा होला, धेरै दिन बिदा बस्न पाइला । हामीले पढ्नु र सिक्नुपर्ने बेला हो । अहिले पढ्न नपाए कहिले पढ्ने ?’ उनले चिन्ता व्यक्त गर्दै भनिन्, ‘सरकारले यो निर्णय ठीक गरेन ।’