
२ जेठ, काठमाडौं । भारतले चिनी निर्यातमा रोक लगाएको केही दिनमै नेपालमा चिनी क्षेत्रमा आत्मनिर्भर बनाउनुपर्ने विषयमा गम्भीर बहस सुरु भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले सम्बन्धित सरोकारवालाहरुलाई बोलाएर यस विषयमा छलफल सुरु गरेकी छन्। मन्त्री गौरी कुमारीले हालै नेपाल चिनी उत्पादक संघका पदाधिकारीहरू र सरोकारवालाहरूसँग उपभोक्ता हित, बजार मूल्य स्थिरता र चिनी सहज उपलब्धताको विषयमा छलफल गरेको मन्त्रालयले जानकारी दिएको छ।
छलफलका क्रममा मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउन उन्नत जातका उखु खेतीमार्फत उत्पादन बढाउने योजना अघि बढाउने बारेमा कुराकानी भएको स्रोतले जनाएको छ। सरोकारवालाहरूले उद्योग मन्त्रालयलाई कृषि, वन तथा वातावरण मन्त्रालयसँग समन्वय गरी नेपालमा संचालित चिनी उद्योगको उत्पादन क्षमता वृद्धि गर्ने तथा किसानहरूलाई उखु खेतीमा आधुनिक प्रविधि प्रयोगका लागि सहजता प्रदान गर्ने योजनामा काम गर्न सुझाव दिएका छन्। उद्योगीहरूले पनि बजारमा चिनी सुगम र सुलभ मूल्यमा नियमित रूपमा आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बजारमा चिनीको अभाव नहोस् भनेर आपूर्ति मन्त्रालयले उत्पादन प्रवर्धन, आपूर्ति व्यवस्थापन, बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ। उद्योगी तथा व्यवसायीहरूले उत्पादन र उत्पादकत्व अभिवृद्धि, स्वच्छ बजार विकास र उपभोक्ता हित संरक्षणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित चिनी लगायत अत्यावश्यक वस्तुको आपूर्ति र मूल्य स्थिरता कायम राख्न मन्त्रालय पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी दिएका छन्। नेपालमा सञ्चालित चिनी उद्योगमा रहेको मौज्दात र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा आयात गरिएको चिनीले करिब आठ महिनाको माग पूर्ति गर्ने मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपभोक्ता र सरोकारवालाहरुलाई चिनीको अनावश्यक सञ्चिति नगर्न र चिनीको उपलब्धता तथा आपूर्तिमा अनावस्था नदेखिन आग्रह गरेको छ।

