पूर्णबहादुरको विश्लेषण: गगन पुरै कांग्रेसको सभापति बन्न सकेनन्, सानेपामा सीमित भए

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेपाली कांग्रेसको सिंगो सभापति बन्न नसकेको टिप्पणी गरेका छन्। शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनमञ्चमा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्।
नेता खड्काले आफूलाई भेट्न आएका सभापति थापालाई समग्र पार्टीको सभापति बन्न सुझाव दिएको पनि बताए। उनले अहिले पनि थापा सानेपाको मात्रै सभापति भएको टिप्पणी गरे। ‘पार्टी विभाजनको डिलमा छ, म त्यो बाटोमा जान हुन्न भन्छु,’ केही दिनअघि थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले भनेको कुरा सम्झँदै उनले भने, ‘तर पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मेवारी छ भन्ने मेरो कुरा हो।’
उनीहरूले अदालतले जिताएपछि आफूहरूले पनि थापालाई सभापति मानेको बताए। विशेष महाधिवेशनकै कारण कांग्रेस चुनावमा पराजित भएर ३८ सिटमा सीमित हुन पुगेको अवस्था आएको पनि निवर्तमान कार्यवाहक सभापति खड्काले टिप्पणी गरे। ‘विशेष महाधिवेशनले कांग्रेसलाई ३८ सिटमा सीमित गर्यो र रास्वपा दुई तिहाई नजिक पुगेको छ। त्यो नभएको भए देशको परिस्थिति पूरै फरक हुन्थ्यो’, उनले भने।

