
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई विश्वव्यापी चासोको विषय बनेको भन्दै “विश्व स्वास्थ्य सङ्कट” घोषणा गरेको छ। अहिलेसम्म २४६ जना सन्दिग्ध सङ्क्रमित देखिएका र ८० जनाको ज्यान गएको भएपनि डब्लूएचओले यस प्रकोपले महामारीको स्तरमा पुगेको छैन भनी जनाइरहेको छ। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानम गेहब्रेयससले भनेका छन्, “सङ्क्रमितको वास्तविक संख्या र प्रकोप फैलिएको क्षेत्रबारे धेरै अनिश्चितता छ।”
इबोलाको हालको स्ट्रेन बुन्डीबुग्यो नामक भाइरसको कारण भएको र यसको लागि कुनै औषधि वा खोप उपलब्ध नभएको डब्लूएचओले जनाएको छ। प्रयोगशालाबाट पुष्टि भएका आठ जना सङ्क्रमित छन् भने इटुरी प्रान्तको राजधानी बुनिया, सुनखानीका मोङ्ग्वालु र र्वाम्पारा नगर लगायतका क्षेत्रमा अन्य सन्दिग्ध बिरामी र मृत्युकाण्डका घटना पनि भेटिएका छन्।
डब्लूएचओले यो भाइरस प्रजातान्त्रिक गणतन्त्र कङ्गो बाहिर फैलिएको र छिमेकी देश युगान्डामा दुईजनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ। बिहीवार निधन भएका ५९ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको युगान्डाका अधिकारीहरूले पुष्टि गरेका छन्। मानवहरूको आवागमन र व्यापारका कारण प्रजातान्त्रिक गणतन्त्र कङ्गोका छिमेकी देशहरूमा सङ्क्रमण फैलने उच्च जोखिम रहेको ठहर गरिएको छ।
डब्लूएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगान्डामा सङ्क्रमणको निगरानी, पहिचान तथा नियन्त्रणका लागि आपत्कालीन केन्द्रहरू स्थापित गर्न सिफारिस गरेको छ। सङ्क्रमण पुष्टि भएका सीमावर्ती क्षेत्रहरूमा सरकारहरूले निगरानी र रिपोर्टिङ तिव्र बनाउनु पर्नेमा डब्लूएचओले जोड दिएको छ।

