Skip to main content

अब हावामा औंला घुमाएर टाइप गर्ने सम्भावना

फोन वा कम्प्युटरमा काम गर्दा स्मार्टफोनको टचस्क्रिन वा कम्प्युटरको किबोर्ड छुनुपर्ने आवश्यकता निकट भविष्यमा हट्नसक्छ। मेटाले आफ्नो एआई स्मार्ट चस्माका लागि यस्तो नयाँ सुविधा सार्वजनिक गरेको छ, जसको सहायताले प्रयोगकर्ताले हावामा औंला चलाएर मात्र टाइप गर्न सक्नेछन्। कम्पनीले यसका लागि विशेष किसिमको न्युरल रिस्टब्यान्ड प्रविधि विकास गरेको छ, जसले हातको सूक्ष्म गतिविधि समेत पहिचान गर्न सक्षम छ। यो प्रविधिले मेटाको एआई स्मार्ट चस्मा, रेबन मेटा स्मार्ट ग्लासेससँग काम गर्नेछ। यसले प्रयोगकर्तालाई डिस्प्ले, किबोर्ड वा भ्वाइस कमाण्ड बिना नै सन्देश पठाउन सक्षम बनाउनेछ। साथै, यो सुविधा ह्वाट्सएप लगायतका विभिन्न मेसेजिङ एपहरूलाई पनि समर्थन गर्नेछ।

कम्पनीका अनुसार नाडीमा बाँधिने उक्त ब्यान्डले हातका नसाबाट निस्कने विद्युतीय संकेतहरू पढ्छ र त्यसको आधारमा कमाण्ड बुझ्ने कार्य गर्दछ। अर्थात्, प्रयोगकर्ताले केवल औंलाको हल्का चालबाट टेक्स्ट लेख्न वा एपहरू नियन्त्रण गर्न सक्नेछन्। मेटाले करिब छ महिनाअघि उक्त स्मार्ट ग्लास सार्वजनिक गरेको थियो र अहिले यसमा एआई आधारित सञ्चार सुविधालाई अझ उन्नत बनाउने काम भइरहेको छ। नयाँ अपडेटमा सबैभन्दा महत्वपूर्ण सुविधा न्युरल ह्यान्डराइटिङ रहेको छ, जसको सहायताले स्मार्टफोन हातबाट निकाल्न नपर्ने गरी टाइप गर्न सकिनेछ। यसका लागि कुनै भौतिक वा डिजिटल किबोर्ड आवश्यक पर्दैन।

मेटा रेबन डिस्प्ले लगाएका व्यक्तिहरूले हावामा औंला घुमाएर टाइप गर्न सक्नेछन्। प्रयोगकर्ताले कुनै कापीमा अक्षर लेखेजस्तै गरी हावामा औंला घुमाउनुपर्नेछ। उदाहरणका लागि, अंग्रेजी अक्षर ‘एम’ लेख्नका लागि हावामा ‘एम’ आकार बनाएर औंला चलाउनुपर्नेछ। यद्यपि यसका लागि मेटाको रेबन स्मार्ट चश्मासँगै प्रयोगकर्ताले न्युरल रिस्टब्यान्ड पनि लगाउनुपर्ने हुन्छ। यो ब्यान्डले मानिसको हातको हाउभाउलाई ट्रयाक गरी बुझेर कमाण्डमा रूपान्तरण गर्न सक्छ। यो सुविधा ह्वाट्सएप, मेसेन्जर, इन्स्टाग्राम तथा एन्ड्रोइड र आईओएसका अन्य मेसेजिङ एपहरूलाई पनि समर्थन गर्नेछ।