
आजदेखि अधिकमास अर्थात मलमास सुरु भएको छ, जसलाई पुरुषोत्तम महिना पनि भनिन्छ। यो मलमास असार १ गतेसम्म रहनेछ। सौर्यमास र चान्द्रमासका महिनाहरूलाई सुमेल गर्नका लागि करिव ३–३ वर्षमा एक अतिरिक्त महिना थपिन्छ, जसलाई मलमास वा अधिकमास भनिन्छ। सूर्यमास भनेको सूर्यको गतिअनुसार कायम गरिएको महिना हो भने चन्द्रमास भनेको चन्द्रमाको गतिअनुसार चल्ने महिना हो।
पञ्चांग गणनामा सूर्यमानअनुसार एक वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ। चन्द्रमानअनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ। सूर्यमान भन्दा चन्द्रमानको वर्षमा १० दिन ५३ घडी, ३० पला तथा ७ विपला बढी समय हुन्छ। चन्द्रमानको वर्षमा हुने यो अतिरिक्त समयले एक महिना पुग्छ र त्यसलाई समायोजन गर्न अधिकमास मनाइन्छ।
धार्मिक मान्यता अनुसार, यस महिनामा निम्न कामहरू नगर्नुपर्ने भनिन्छ: विवाह, ब्रतबन्ध, गृहप्रवेशजस्ता शुभकार्यहरू नगर्नु, कुनै पूजा, पुराण श्रवण नगर्नु, मन्दिर निर्माण र देवीदेवताको प्राणप्रतिष्ठा नगर्नु, र नयाँ व्यवसाय वा नयाँ काम सुरु नगर्नु। यस महिनामा भगवान विष्णुको पूजा आराधना गरिन्छ र पुरुषोत्तम महात्म्यको चलन छ। काठमाडौंको मच्छे नरायण मन्दिरमा विशेष मेला लाग्ने गर्दछ।

