बुटवल उपमहानगरका कर्मचारीद्वारा गाईवस्तु लखेट्दै कुटेको भिडियो सामाजिक संजालमा भाइरल

हालै सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ जसमा गाईवस्तुहरूमाथि निर्दयी तरिकाले कुटपिट गरिएको देखिन्छ। सडकमा आएका ती गाईवस्तुलाई मान्छेको भीडले लखेट्दै कुटिरहेको दृश्यमा एउटा सानो बाछोको खुट्टा भाँचिएको देखिन्छ। ती पशुहरू भाग्न खोजिरहेका छन्। अर्को गोरुले भीडबाट भाग्न खोज्दा त्यहाँ रहेका मान्छेहरूले लठ्ठीले चुटिरहेको देखिन्छ, मानौं त्यो कुनै निर्जीव वस्तु हो।
उत्तेजित भएर गाईवस्तुलाई कुट्ने यस अत्याचारलाई हेर्ने दर्शकहरूको भीड पनि देखिन्छ। केहीले मोबाइलमा भिडियो खिचिरहेका छन् भने सुरक्षाकर्मी पनि यस्तो भेटको मनोरञ्जनले हेरिरहेका छन्। अवोध पशुप्राणीमाथिको यो ज्यादतीलाई रोक्ने केहि देखिँदैन। सामाजिक सञ्जालमा यो भिडियोलाई लिएर तीव्र आलोचना भइरहेको छ। बुटवल नगरपालिकाका कर्मचारीहरूको यस्तो कृत्यलाई धेरैले ‘आपराधिक’ भनेर आलोचना गरेका छन्।
भिडियोमा उपमहानगरका प्रमुख खेलराज पाण्डेले गाईगोरु लखेट्ने अभियान सञ्चालन गरेको बताएका छन्। उनले स्थानीयवासीलाई बिहान ७ बजेदेखि गाईवस्तु लखेट्न आह्वान गरेका छन् र यो अभियान आगामी ७ गतेसम्म लगातार जारी रहने जानकारी दिएका छन्। बेवारिसे गाईवस्तुका कारण सडकमा अवरोध भए पनि यसलाई व्यवस्थापन गर्दा पशुहरूलाई कुट्ने होइन भन्ने धेरैले तर्क राखेका छन्। उपभोगका लागि अयोग्य भएर सडकमा छाडिएका ती पशुहरूको उचित व्यवस्थापन गर्न र क्रूर व्यवहार नगर्न सुझाव दिइएको छ।

