
समाचार सारांश सम्पादकीय समीक्षापछि तयार। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा ७२८ कम्पनीमार्फत एफडीआई स्वीकृत गरिएको छ, जसमा १९५ अप्रुभल रुट र ५३३ अटोमेटिक रुटबाट दर्ता भएका छन्। सूचना प्रविधि क्षेत्रमा सबैभन्दा धेरै कम्पनी दर्ता भएका छन्, कुल ५८ प्रतिशत उद्योग सो क्षेत्रमा छन्। ३ जेठ, काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिवद्धता ४५ अर्बभन्दा माथि पुगेको छ। उद्योग विभागका अनुसार वैशाख मसान्तसम्म ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत गरिएको छ। यस अवधिमा अटोमेटिक रुटबाट ५ अर्ब ७६ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ५५ करोड रकम बराबर एफडीआई स्वीकृत भएको छ। वैशाख २०८३ मा मात्र ३ अर्ब ५२ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको देखिन्छ। १० महिनामा उक्त लगानी प्रतिवद्धता कुल ७२८ कम्पनीमार्फत आएको हो। १९५ कम्पनी अप्रुभल रुट र ५३३ कम्पनी अटोमेटिक रुटबाट दर्ता भएका थिए। वैशाखमा मात्रै ११३ कम्पनी दर्ता भएको उद्योग विभागले जनाएको छ। यस वर्ष ९ वटा मात्र ठूला कम्पनी दर्ता भएका छन्। ८ मझौला र ७११ कम्पनी साना प्रकृतिका छन्। वैशाखमा एउटा मात्र ठूलो र बाँकी ११२ कम्पनी साना प्रकृतिका दर्ता भएका छन्। यस वर्ष दर्ता भएका यी कम्पनीहरूले कुल २३ हजार ५३० रोजगारी सिर्जना गर्ने लक्ष्य राखेका छन्। उद्योग विभागका अनुसार यस वर्ष सूचना प्रविधिमा सबैभन्दा धेरै कम्पनी दर्ता भएका छन्। कुल ५८ प्रतिशत उद्योग सो क्षेत्रमा दर्ता भएका छन्। जुन संख्यामा ४२१ उद्योग पर्छन्। पर्यटनमा १८९, उत्पादन क्षेत्रमा ४२, र सेवामा ५५ वटा उद्योग दर्ता भएका छन्। कृषि क्षेत्रमा १६, खानी र पूर्वाधार क्षेत्रमा एउटा–एउटा उद्योग दर्ता भएको देखिन्छ। यस वर्ष साउन महिनामा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको थियो। भदौको जनजाती आन्दोलनपछि लगानी प्रतिवद्धता ह्वात्तै तल झरेको थियो भने आम निर्वाचन र नयाँ सरकार गठनपछि त्यो क्रम केहि हदसम्म बढिरहेको छ।

