
सुनसरी–मोरङ सिंचाई आयोजनाका १११ बिघा ५ कट्ठा ३ धुर जग्गा अतिक्रमणमा परेर २ हजार ७३३ घर, भवन, मन्दिर र आश्रम निर्माण भएका छन्। आयोजनाले अतिक्रमित जग्गा र संरचनाहरू हटाउन प्रशासनलाई पत्राचार गरी कानुन अनुसार कारबाही र संरक्षणका लागि सहयोग मागेको छ। २०७२ सालमा केहि जग्गा खाली गराए पनि पूर्ण रूपमा खाली गर्न नसक्दा हाल २० दिनअघि पुनः जिल्ला प्रशासनलाई पत्राचार गरी अतिक्रमित जग्गा खाली गराउने प्रक्रिया सुरु गरेको छ।
सुनसरीको उत्तरी भेगमा रहेको बराहक्षेत्र नगरपालिका (कोशीको नयाँपुल) बाट दक्षिण चतरा इन्टेकदेखि मोरङको बुधनगरसम्म ५३ किलोमिटर लम्बाइको मूल नहर, २०३ किलोमिटर लम्बाइका १९ शाखा र उपशाखा नहर तथा २३४ किलोमिटर लम्बाइका साना शाखा नहरका डिल र वरिपरिका जग्गा अतिक्रमण गरी अनधिकृत रूपमा भौतिक संरचना निर्माण गरिएको छ भनेर आयोजनाले जनाएको छ। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तेज रिजालले हस्ताक्षर गरेको पत्रमा जग्गा अतिक्रमणले सिंचाइ सुविधामा हानि पुर्याउने व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्न तथा कोलोनीहरू, चतरा मूल नहर र शाखा प्रशाखा नहर प्रणालीहरूको संरक्षणका लागि सहयोग गर्न अनुरोध गरिएको छ।
आयोजनाले विशेष गरेर सिंचाइ प्रणालीको प्रभावकारिता कायम राख्न र सरकारी सम्पत्तिको संरक्षणका लागि सुनसरी र मोरङ जिल्लाका प्रशासन कार्यालयहरूबाट आवश्यक पहल र सहजीकरणको अपेक्षा गरेको आयोजका निमित्त निर्देशक मनोहरकुमार साहले बताएका छन्। उक्त पत्र जलस्रोत तथा सिंचाइ विभाग, जावलाखेललाई समेत बुझाइएको छ।

